Advertisement Banner
Advertisement Banner

२७ बुधबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

नक्शामा नभएको देश– सेसेल्समा लोकार्पण

२७ बुधबार , जेठ २०८३९ घण्टा अगाडि

नक्शामा नभएको देश– सेसेल्समा लोकार्पण

साहित्यकार तथा अनेसास केन्द्रीय उपाध्यक्ष गणेश खड्काद्वारा लिखित,  साहित्यकार तथा सम्पादक रमेश दाहालद्वारा सम्पादित तथा मिलाप पब्लिकेशन प्रा.लि. काठमाडौँद्वारा प्रकाशित नियात्रा-निबन्धसङ्ग्रह नक्शामा नभएको देश पूर्वी अफ्रिकी मुलुक सेसेल्सको राजधानी माहे आइल्याण्डस्थित, भिक्टोरियामा अफ्रिका लोकार्पण भएको छ ।

७ जुन २०२६ आइतबारका दिन सम्पन्न उक्त कार्यक्रमको सभापतित्व एनआरएनए सेसेल्सका उपाध्यक्ष प्रेमबहादुर चन्दले गरेका थिए भने प्रमुख अतिथि एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक मनोज बि क तथा विशेष अतिथि एनआरएनए अफ्रिका क्षेत्रीय महिला संयोजक खेसेना लिङ्देन रहेका थिए । कार्यक्रममा एनआरएनए सेसेल्सकी महिला उपाध्यक्ष पवित्रा भट्टराईले स्वागत मन्तव्यसहित उपस्थित सम्पूर्णलाई स्वागत गरेकी थिइन् ।

प्रमुख अतिथिको आशनबाट बोल्दै एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक मनोज बिक ले भने- नेपालीहरुको जानकारीमा निकै कम आएको र नक्शामा समेत नभएको देश सेसेल्स भ्रमणका क्रममा भोगेका र अनुभव गरेका विषयलाई कलात्मक ढङ्गले लेखेर पुस्तकको रूप दिई हामीसमक्ष ल्याएर स्रष्टा खड्काले गुन लगाउनुभएको छ । यो पुस्तक केवल एउटा पुस्तकको रूपमा मात्रै नभएर एक ऐतिहासिक दस्तावेजका रूपमा आएकाले हरेक नेपालीले यसलाई सिरानीमा राख्नुपर्ने कुरासमेत बि।क।ले सुझाए ।

पुस्तकका स्रष्टा गणेश खड्काले यो किताब लेख्न आफूलाई निकै मिहिनेत र दुःख समेत गर्नुपरेको कुरा स्मरण गर्दै भने- आफू सेसेल्स भन्ने देशमा जागीर खान जान लागेको कुरा गर्दा कसैले नपत्याएको, यो संसारमा सेसेल्स भन्ने देश पनि छ र ? भनी सोधेको, यतिसम्म कि नक्शामा खोज्दासमेत सेसेल्स नामक देश नभेटेपछि यसको बारेमा खोज, अनुसन्धान गरेर केही त लेख्नैपर्छ भनेर लागिपरेको र त्यसैको उपज आजूनक्शामा नभएको देश पुस्तक प्रकाशन गर्न सफल भएको अनुभव र प्रसङ्ग सुनाए ।

त्यसैगरी सम्पादक रमेश दाहालले– यो कृति नेपाली पाठकका लागि केवल पढ्ने सामग्री होइन, आत्मनिरीक्षणको एउटा सशक्त माध्यम हो, जसले हाम्रो समाज, सपना र यथार्थलाई पुनःपरिभाषित गर्न बाध्य बनाउँछ । यही कारण, “नक्शामा नभएको देश” समकालीन नेपाली नियात्रा–निबन्ध साहित्यको एक महत्त्वपूर्ण, गम्भीर र अविस्मरणीय कृति बनेर आएको छ । पुस्तकको आमुखमार्फत बताएका छन् ।

प्रकाशक मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले उक्त कृतिको बृहत् अन्तर्क्रिया कार्यक्रम लेखक नेपाल आएका बखत गरिने कुरा हामीलाई बताएका छन् ।

एनआरएनए सेसेल्स र अनेसास अफ्रिका महादेशीय च्याप्टरको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा च्याप्टरका सदस्य कवि महेन्द्र भट्टराईले विमोचित पुस्तक नक्शामा नभएको देश को समीक्षात्मक परिचर्चा गरेका थिए । त्यसैगरी कार्यक्रमको सहजीकरण अनेसास अफ्रिका च्याप्टरका महासचिव कवि आरसी राई र सदस्य कवि गायत्री कुलुङले गरेका थिए ।