
अवैध लागूऔषध खैरो हेरोइन सहित तीन जना पक्राउ
काठमाडौं, २० जेठ । ललितपुर, ललितपुर महानगरपालिका १५ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५० ग्राम र डिजिटल तराजु २ थान सहित बारा सिम्रौनगढ नगरपालिका ७ घर भएका २५ वर्षीय सेख असरफ अलीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका २ अत्तरीया डेरा गरी बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका ६ महेन्द्रनगर घर भएकी ३६ वर्षीया ममता भट्टलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मोरङ, सुनवर्षी नगरपालिका १ गिरदलिया जोगिधापबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम ३ सय ७० मिलिग्राम सहित सोही नगरपालिका २ अमरदह बस्ने ३६ वर्षीय रूष्तम मियाँलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट केचनाबाट खटिएको प्रहरीले बीआर ३७ एएच २८३१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कृत्रिम व्यवसायमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं, २० जेठ । कृत्रिम व्यवसाय खडा गरी पटक पटक कर्जा दुरूपयोग गरेको कसुरमा संलग्न रहेको अभियोगमा राम जानकी हेल्थ फाउण्डेसनका सञ्चालक समितिका अध्यक्ष तथा इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनेरी साइन्सेस प्रा लि का सञ्चालक काठमाडौं महानगरपालिका ९ रातोपुल बस्ने ओम प्रसाद पाण्डेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उच्च अदालत पाटन ललितपुरबाट २०८२ मंसिर २८ गते पक्राउ पूर्जी जारी भएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले धनुषा छिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित जानकी मेडिकल कलेजको प्राङ्गणबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनेरी साइन्सेस प्रा।लि। नामक कृत्रिम व्यवसाय खडा गरी Detail Project Plan (DPR) बिना तथा धितोको अस्वभाविक रूपमा बढी मुल्याङ्कन गरीरगराई कर्जा लिएको, प्रभु बैंकबाट जुन प्रयोजनको लागि कर्जा लिएको हो सो को अन्यत्र प्रयोग गरीरगराई पटक पटक कर्जाको दुरूपयोग गरेको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हात्तीको दाह्रा सहित पाँच जना पक्राउ
काठमाडौं, २० जेठ । वन्यजन्तुको अखेटोपहार हात्तीको दाह्रा सहित ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका ९ मनमैजु बस्ने २५ वर्षीय राजिव महर्जन, गोरखा घर भएका २६ वर्षीय टेक प्रसाद गुरूङ, काठमाडौं महानगरपालिका १७ बसन्तपुर बस्ने २७ वर्षीय आयुष महर्जन, टोखा नगरपालिका २ सपनतीर्थ बस्ने बैतडी घर भएका २४ वर्षीय पुरन बोहरा र तारकेश्वर नगरपालिका १० मनमैजु बस्ने गोरखा घर भएका २० वर्षीय सन्त बहादुर भुजेल रहेका छन् ।
काठमाडौँ मनमैजु एरियामा राजिव महर्जन समेतका व्यक्तिहरूले अवैध रूपमा वन्यजन्तु हात्तीको दाह्रा ओसार पसार बिक्री वितरण तथा सञ्चय गरी राखेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजिवको घर नजिक रहेको खाली जग्गामा गाडेर राखेको अवस्थामा हात्तीको दाह्रा २ थान र उनकै घरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट फेला पारी राजिव, आयुष र टेक प्रसादलाई पक्राउ गरेको थियो ।
अनुसन्धानको क्रममा अन्य २ वटा हात्तीको दाह्राका टुक्राहरू पुरनसँग रहेको भन्ने खुल्न आएपश्चात उनलाई सपनतीर्थबाट पक्राउ गरी सोधपुछ गर्दा उक्त हात्तीको दाह्राका टुक्राहरु मनमैजु बस्ने सन्त बहादुरलाई दिएको भन्ने खुलेपछि सन्त बहादुरको तारकेश्वर नगरपालिका १० मनमैजुस्थित कोठाबाट हात्तीको दाह्राका टुक्राहरू २ थान फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये राजिव, आयुष र टेक प्रसादलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिमको कसुरमा एवम् पुरन र सन्त बहादुरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।
करणी गरेको अभियोगमा पक्राउ
संखुवासभा, २० जेठ । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचखपन नगरपालिका ३ बस्ने ३० वर्षीय अरूण राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अरूणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक सहित एक जना पक्राउ
नवलपरासी पश्चिम, २० जेठ । बर्दघाट नगरपालिका १५ पोटाहा बस्ने ५५ वर्षीय ओम प्रकाश चौधरीलाई एकनाले भरूवा बन्दुक १ थान, छर्रा, बारूद लगायतका हातहतियार सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम, इलाका प्रहरी कार्यालय बर्दघाट र इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
एकनाले भरूवा बन्दुक बरामद
दाङ, २० जेठ । बंगलाचुली गाउँपालिका ३ भेँडाबारीस्थित सिद्ध मण्डली सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान, केप, छर्रा, बारूद र फलामको टुक्रा बुधबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उक्त हातहतियार फेला पारी बरामद गरेको हो ।
यसैगरी दाङ, बंगलाचुली गाउँपालिका ३ तिखेचुलीस्थित तिखेचुली सिद्ध मण्डली सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक २ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
लागूऔषध सहित १४ जना पक्राउ
काठमाडौं, २१ जेठ । बाँके, राप्तीसोनारी गाउँपालिका(६ कुण्डा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका(६ पनेरिया बस्ने ३५ वर्षीय दिपक थारू र सोही गाउँपालिका ६ मेहमानपुर बस्ने ३५ वर्षीय बिर बहादुर घर्ती मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट फत्तेपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका(४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८६ मिलिग्राम सहित धरान उपमहानगरपालिका १७ बस्ने ३५ वर्षीय अमित राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका १८ पटेर्वाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय ९० मिलिग्राम र नगद ४७ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २३ वर्षीय रोहित चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, भोक्राहानरसिंह गाउँपालिका ६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ मिलिग्राम सहित इटहरी उपमहानगरपालिका ५ बस्ने संखुवासभा बाह्रबिसे गाउँपालिका १ घर भएका ४२ वर्षीय भिम बहादुर दासलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका १७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका ८ बस्ने २५ वर्षीय प्रवेश राई र ३० वर्षीय मनोज तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भक्तपुर, भक्तपुर नगरपालिका १० भत्केको पाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ ट्याब्लेट सहित दोलखा चरिकोट नगरपालिका ६ घर भएका २४ वर्षीय विशाल भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका १७ दुधरासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका १९ कुटीचौर बस्ने २६ वर्षीय श्रवण रोकालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बेलझुण्डीबाट खटिएको प्रहरीले बा ५८ प ८१४५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका २ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका २ बयलकाडा टोल बस्ने २४ वर्षीय दिपिन राना र २१ वर्षीय बिशाल थापा रहेका छन् । नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका ८ पचुईबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका ३ बराडा गाउँ बस्ने २४ वर्षीय प्रकाश चौधरी, २५ वर्षीय शिव चौधरी र २२ वर्षीय अविनास चौधरी रहेका छन् । प्रहरी चौकी पचुईबाट खटिएको प्रहरीले से ३ प १९८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
विभिन्न देश पठाइदिन्छु भन्दै चार ठग पक्राउ
काठमाडौं, २१ जेठ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका ३ बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी गाउँपालिका २ घर भएका २६ वर्षीय निमा तामाङ, काठमाडौं महानगरपालिका(३२ बस्ने महोत्तरी बर्दिबास नगरपालिका(६ घर भएका २४ वर्षीय बिबेक साह, काठमाडौं चन्द्रागिरी नगरपालिका(१ बस्ने सप्तरी राजविराज नगरपालिका ८ घर भएका ५२ वर्षीय उज्वल कुमार थापा र काठमाडौं महानगरपालिका(९ बस्ने तेह्रथुम लालिगुराँस नगरपालिका ५ घर भएका ३५ वर्षीय खेम बहादुर बस्नेत रहेका छन् ।
पक्राउ मध्ये निमाले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २२ लाख ८५ हजार रूपैयाँ, बिबेकले जर्जिया, माल्टा लगायतका देशहरू पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ३५ हजार रूपैयाँ, उज्वलले हंगेरी र रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ९ लाख ६२ हजार रूपैयाँ र खेम बहादुरले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निमालाई काठमाडौं महानगरपालिका ६ बाट, बिबेकलाई काठमाडौं महानगरपालिका १० बाट र उज्वललाई काठमाडौं महानगरपालिका(३१ बाट मंगलबार तथा खेम बहादुरलाई काठमाडौं महानगरपालिका ११ बाट बुधबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये निमा र बिबेकलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने उज्जवल र खेम बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं, २१ जेठ । भक्तपुर, आफ्नै श्रीमती ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका १० छालिङ रोड डेरा गरी बस्ने काठमाडौं शंखरापुर नगरपालिका ६ नाङ्लेभारे घर भएका ३८ वर्षीय विदुर विश्वकर्मालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको क्रममा विदुरले धारिलो हतियार खुकुरी प्रहार गर्दा सलिनाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बाजुरा, बुढीनन्दा नगरपालिका ६ कोटिला बस्ने ३२ वर्षीय निर रावतको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय टेकेन्द्र रावतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । टेकेन्द्रले ढुंगा प्रहार गर्दा निरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं, २१ जेठ । जाजरकोट, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नलगाड नगरपालिका ३ कैना बस्ने ३९ वर्षीय काली बहादुर पुनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । काली बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय जाजरकोट समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रतापपुर गाउँपालिका ४ ननपुर बस्ने २५ वर्षीय राज कुमार कम्करलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राज कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


