
नेपाल इनोभेसन सेन्टर तथा स्थानीय सरोकारका विषयमा सक्रिय युवाहरूको तर्फबाट हाल देखिएका केही सामाजिक, शैक्षिक, आर्थिक तथा शहरी व्यवस्थापनसम्बन्धी विषयहरू यहाँहरूसमक्ष जानकारी तथा सहकार्य अपेक्षासहित प्रस्तुत गरेका छौं। यी विषयहरू स्थानीय तह, सञ्चार क्षेत्र तथा सरकारी संयन्त्रबीच समन्वय गरेर समाधान खोज्न सकिने प्रकृतिका छन्।
१। विद्यालय आगलागीपछिको शैक्षिक संकटलाई प्राथमिक समाचार र नीतिगत बहस बनाऔं
हालै युपिभिसी संरचनामा बनेको विद्यालय भवन जलेर नष्ट भएपछि कक्षाकोठा अभावका कारण विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको छ। यसले सुरक्षित विद्यालय पूर्वाधार र विपद् व्यवस्थापनबारे गम्भीर बहस आवश्यक भएको देखाउँछ।
२। लिवाली क्षेत्रलाई वैकल्पिक शैक्षिक केन्द्रका रूपमा अध्ययन गर्न सकिन्छ
लिवाली क्षेत्र पैदल पहुँचयुक्त तथा शैक्षिक विस्तारका लागि सम्भावनायुक्त देखिएको छ। वडा शिक्षा समितिले विगतदेखि त्यहाँ विद्यालयका शाखा सञ्चालन गर्न सुझाव दिँदै आएको विषयलाई नीतिगत छलफलमा ल्याउन आवश्यक देखिन्छ।
३। ट्राफिक र विद्यार्थी ओसारपसार समस्याको स्थानीय समाधान
धेरै विद्यालयले टाढाबाट गाडीमार्फत विद्यार्थी ल्याउनुपर्ने अवस्था रहेकोले शाखा विद्यालय मोडलले ट्राफिक चाप, समय तथा खर्च घटाउन मद्दत गर्न सक्छ। सञ्चारमाध्यमले यस विषयमा जनमत निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।
४। हरित ड्राइभ अभियानलाई केवल प्रदर्शन नभई नीतिसँग जोड्नुपर्छ
बिहान आयोजित “ग्रीन ड्राइभ” अभियानले वातावरणमैत्री यातायातबारे बहस उठाएको छ। तर दीर्घकालीन समाधानका लागि शहरी योजना, बजार व्यवस्थापन र परीक्षण पूर्वाधारको विषय पनि जोडिन आवश्यक छ।
५। भक्तपुरलाई अटो बजार क्षेत्र बनाउने सम्भावनाबारे सार्वजनिक बहस आवश्यक
जगाती पुलदेखि थिमी पुलसम्मको राजमार्ग क्षेत्रमा सवारी बजार विस्तार गरिए खुला टेष्ट ड्राइभ, ग्राहक पहुँच र व्यवस्थित बजार प्रणाली विकास हुन सक्ने हाम्रो अध्ययनात्मक निष्कर्ष छ।
६। वर्तमान शोरुम संरचनामा परीक्षण सुविधा सीमित
नक्साल र थापाथलीजस्ता भीडभाडयुक्त क्षेत्रमा सवारी परीक्षणका लागि पर्याप्त खुला क्षेत्र नभएकाले बारम्बार इभेन्टमार्फत ग्राहक आकर्षित गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरूले बताएका छन्।
७। डिजिटल प्रचारभन्दा प्रत्यक्ष अनुभवमा आधारित बजार विकास
हाल भ्लगरहरूको अनुभव भिडियोमार्फत सवारी बिक्री प्रवर्द्धन भइरहेको छ। तर ग्राहकले प्रत्यक्ष परीक्षण गरेर निर्णय लिन सक्ने संरचना विकास गर्नु उपभोक्ता अधिकारका दृष्टिले पनि उपयोगी हुन सक्छ।
८। नेटवर्क मार्केटिङ प्रणालीलाई स्थानीय उत्पादनमैत्री बनाउनुपर्छ
अहिले एउटै ब्राण्डको उत्पादन उच्च मूल्यमा बिक्री गर्ने प्रवृत्ति बढिरहेको छ। यसले स्थानीय उद्यमी तथा साना उत्पादकलाई सीमित अवसर दिएको देखिन्छ।
९। बहु(उत्पादन नेटवर्क प्रणालीले स्थानीय अर्थतन्त्र बलियो बनाउन सक्छ
हरेक सदस्यले आफ्नै उत्पादन, सीप वा सेवा बिक्री गर्न सक्ने खुला नेटवर्क प्रणाली निर्माण गरिए घरेलु उत्पादन, महिला उद्यमशीलता तथा स्थानीय नवप्रवर्तनलाई प्रत्यक्ष सहयोग पुग्न सक्छ।
१०। पत्रकार र सूचना अधिकारीको सहकार्य किन आवश्यक छ रु
यी विषयहरू केवल निजी धारणा नभई स्थानीय विकास, शिक्षा, वातावरण, शहरी व्यवस्थापन तथा आर्थिक रूपान्तरणसँग सम्बन्धित सार्वजनिक सरोकारका विषय हुन्। त्यसैले पत्रकारहरूले खोजमूलक संवाद अघि बढाउने र सरकारी सूचना अधिकारीहरूले तथ्य, नीति तथा कार्यक्रमसम्बन्धी स्पष्ट सूचना प्रवाह गर्ने अपेक्षा गरेका छौं।
हामी स्थानीय निकाय, सञ्चार क्षेत्र, अनुसन्धानकर्ता तथा सरकारी निकायबीच संयुक्त छलफल, अन्तरक्रिया तथा अध्ययन भ्रमण आयोजना गर्न इच्छुक छौं। यहाँहरूको सुझाव, समाचार सहकार्य तथा नीतिगत संवादको अपेक्षा गर्दछौं।
भक्तपुर टुर रिसर्च सेन्टर
नेपाल इनोभेसन सेन्टर


