Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

जिम्मेवारी इमानदारी एवम् निष्ठापूर्वक सम्पादन गर्नुपर्छ

२१ बिहिबार , जेठ २०८३१५ घण्टा अगाडि

जिम्मेवारी इमानदारी एवम् निष्ठापूर्वक सम्पादन गर्नुपर्छ

काठमाडौं, २० जेठ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी कर्मचारीहरूले नवीनतम सोच एवम् थप सिर्जनशील भई कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै आफूलाई प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक, जनमुखी, इमानदारी एवम् निष्ठापूर्वक सम्पादन गर्नुपर्ने बताउनुभएको छ । 
हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उपलब्धिपूर्ण एवम् उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो ।
प्रहरी महानिरीक्षक कार्कीले सांगठानिक शुद्धीकरण एवम् सुदृढीकरणलाई प्राथमिकतामा राखेर संगठनको श्रीवृद्धिमा थप योगदान पुग्ने गरी जिम्मेवारी बहन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । शुन्य सहनशीलताको नीतिलाई अवलम्बन गर्दै प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी पारदर्शी, समयसापेक्ष एवम् नागरिकमैत्री सेवाभावका साथ नतिजामुखी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  
प्रहरी महानिरीक्षक कार्कीले संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू थप सक्रिय हुनुपर्ने बताउनुभयो । सबै प्रहरी कर्मचारीहरू चेन अफ कमाण्डभित्र रहेर सक्रिय र सामूहिक प्रयासमा केन्द्रीत हुनुपर्ने उल्लेख गर्दै प्रहरी कर्मचारीहरूको क्षमता विकासका साथै समस्या तथा गुनासोको उचित व्यवस्थापन गर्दै उदाहरणीय नेतृत्व प्रस्तुत गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो । विगतमा भएका कमी कमजोरीलाई विश्‍लेषण गरी आवश्यक योजना, नीति बनाई आ-आफ्नो कार्यक्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान एवम् विपद् व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
यसअघि नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई आगामी कार्यदिशा  एवम् समसामयिक विषयमा निर्देशन समेत दिनुभएको थियो ।