Advertisement Banner
Advertisement Banner

१२ शुक्रबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

कलाकार, निर्देशक तथा सर्जक रमेश क्षेत्रीको संघर्षपूर्ण सांगीतिक यात्रा

१४ बिहिबार , जेठ २०८३३ महिना अगाडि

कलाकार, निर्देशक तथा सर्जक रमेश क्षेत्रीको संघर्षपूर्ण सांगीतिक यात्रा

नेपाली कला, अभिनय तथा संगीत क्षेत्रमा संघर्ष, मेहनत र निरन्तर समर्पणमार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल युवा कलाकार हुन् रमेश क्षेत्री। अभिनय, निर्देशन, लेखन तथा संगीत सिर्जनालाई समान रूपमा अघि बढाइरहेका उनी नेपाली मनोरञ्जन क्षेत्रमा उदाउँदो प्रतिभाका रूपमा परिचित छन्।
गुल्मी जिल्लाको बलेटक्सारमा जन्मिएका रमेश क्षेत्री बाल्यकालदेखि नै कला र अभिनयप्रति विशेष रुचि राख्थे। कलाकार तथा निर्देशक बन्ने सपना बोकेका उनले २०६४ सालमा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका थिए। उनले क्याम्पियन कलेज मा विज्ञान विषय अध्ययन गर्दै गर्दा त्यतिबेलाको चर्चित टेलिसिरियल किलो ट्याङ्गो माइक मा साना–साना भूमिकामार्फत आफ्नो अभिनय यात्रा सुरु गरेका थिए।
अभिनयप्रतिको मोहलाई थप निखार्न उनले गुरुकुल नाट्य संस्थान मा अभिनय प्रशिक्षण लिए। त्यहाँ उनले वरिष्ठ रंगकर्मी सुनिल पोखरेल र अनुप बराल जस्ता दिग्गज व्यक्तित्वसँग अभिनय सिक्ने अवसर प्राप्त गरेका थिए। गुरुकुलको अनुभवले उनको अभिनय र निर्देशन यात्रालाई अझ परिपक्व बनाएको बताइन्छ।
हालसम्म रमेशले “रहर” नामक सिरिज निर्माण गरिसकेका छन्, जुन प्रदर्शनको तयारीमा रहेको छ। उक्त सिरिजको निर्देशन, कथा तथा पटकथा स्वयं रमेश क्षेत्रीकै रहेको छ। यसबाहेक उनले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय तथा निर्देशन गरिसकेका छन्।
संगीत क्षेत्रमा पनि उत्तिकै सक्रिय रमेशले पाँच वटा गीतमा शब्द सिर्जना गरेका छन् भने एउटा गीतमा संगीतसमेत दिएका छन्। उनले शब्द सिर्जना गरेका चर्चित गीतहरूमा थोरै थोरै लाज, तोप गोला, नाच पुतली, प्यार तथा बित्यो रात सम्झिँदा रहेका छन्।
विशेषगरी थोरै थोरै लाज गीतले सार्वजनिक भएको एक वर्षमै १२ मिलियनभन्दा बढी दर्शक प्राप्त गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। उक्त गीतले रमेश क्षेत्रीलाई संगीत सिर्जनाकर्ताको रूपमा थप स्थापित गरेको मानिन्छ।
अब उनका दुई नयाँ गीत शिरैमा रिवन र तिमी र म छिट्टै सार्वजनिक हुने तयारीमा रहेका छन्। रमेश आफ्नै प्रोडक्सन कम्पनीमार्फत सांगीतिक तथा दृश्यात्मक सामग्री निर्माण गर्दै आएका छन्। उनले आफ्ना अधिकांश गीतका म्युजिक भिडियो स्वयं निर्देशन गरेका छन्।
अभिनय, निर्देशन, लेखन तथा संगीत सिर्जनालाई एकसाथ अगाडि बढाइरहेका रमेश क्षेत्री नेपाली मनोरञ्जन क्षेत्रमा मेहनत, संघर्ष र सिर्जनशीलताको उत्कृष्ट उदाहरणका रूपमा हेरिएका छन्।