
पोखरा र नेपाली लोकसंगीत, साहित्य तथा पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका वरिष्ठ लोकगायक, कलाकार, साहित्यकार तथा पत्रकार रामप्रसाद खनाललाई पोखरामा विशेष सम्मान गरिएको छ। चार दशकभन्दा बढी समय देखि नेपाली भाषा, कला, संस्कृति र लोकसंगीतको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सक्रिय रहँदै आएका खनाललाई पोखराका विभिन्न सामाजिक तथा सांस्कृतिक संस्थाहरूले संयुक्त रूपमा सम्मान गरेका हुन्।
पोखरामा आयोजित एक विशेष कार्यक्रममा खनाललाई प्रमुख अतिति प्राज्ञ, बरिष्ठ लोक गायिका, साहित्यकार हरिदेबी कोइरालाले सम्मानपत्र, दोसल्ला तथा मायाको चिनोसहित सम्मान, अभिनन्दन गरेकी थिइन। त्यसै गरि पोखराका का ६ भन्दा बढी संघ संस्थाका तर्फबाट संस्थाका प्रमुख हरुले खनाल लाई सम्मान गरेका थिए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्ब कुलपति सरु भक्त समेत को बिशेष उपस्थितिमा आयोजित कार्यक्रमको सभापतित्व स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष एबम अग्रज पत्रकार कृष्ण बास्तोला, संचालन लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद पौडेलले गरेका थिए भने स्वागत भाषण गर्दै सम्मानित व्यक्तित्व खनालका बारेमा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकालले प्रकाश पारेका थिए।
कार्यक्रममा सहभागी वक्ताहरूले विदेशमा रहेर पनि नेपाली भाषा, साहित्य, कला, संस्कृति, पत्रकारिता, समाजसेवा, नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्न खनालले खेलेको भूमिका अत्यन्त प्रेरणादायी रहेको बताएका थिए।
सम्मान कार्यक्रममा बोल्दै वक्ताहरूले नेपाली लोकसंगीतलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउन खनालले उल्लेखनीय योगदान दिएको उल्लेख गरे। उनीहरूले नेपाली भाषा, साहित्य र पत्रकारितामार्फत प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो मातृभूमिसँग जोड्न खनाल सफल भएको धारणा व्यक्त गरे।
कार्यक्रममा खनालले आफूलाई गरिएको सम्मानले थप जिम्मेवार र उत्साहित बनाएको प्रतिक्रिया दिए। उनले पोखरा आफूलाई अत्यन्त प्रिय लाग्ने सहर भएको उल्लेख गर्दै पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र यहाँका सर्जकहरूप्रति सदैव सम्मान रहेको बताए। “ भौतिक रुपमा विदेशमा रहे पनि म र मेरो मन सधै नेपालमै छ,” खनालले भने, “नेपाली गीत(संगीत र साहित्यलाई विश्वभर चिनाउने अभियानमा आगामी दिनमा अझ सक्रिय भएर लाग्नेछु।”
उनले प्रवासमा बसेर नेपाली कला र संस्कृतिको संरक्षण गर्नु चुनौतीपूर्ण भए पनि नेपाली समुदायको माया र साथले आफूलाई निरन्तर प्रेरणा मिलिरहेको बताए। साथै उनले पोखराका अग्रज कलाकार, साहित्यकार र पत्रकारहरूबाट आफूले धेरै कुरा सिक्ने अवसर पाएको स्मरण गरे।
कार्यक्रममा विभिन्न साहित्यिक, सांगीतिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले नेपाली लोकसंस्कृतिको संरक्षणमा नयाँ पुस्तालाई समेत जोड्न आवश्यक रहेकोमा जोड दिएका थिए।
सम्मान कार्यक्रमको आयोजना लेखनाथ साहित्य प्रतिष्ठान, अली मियाँ लोकवार्षिक प्रतिष्ठान तथा हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषलगायत संस्थाहरूको सहकार्यमा गरिएको थियो । कार्यक्रममा सांगीतिक तथा साहित्यिक क्षेत्रका व्यक्तित्वहरूले खनालको योगदानबारे चर्चा गर्दै उनलाई शुभकामना दिएका थिए।


