
झापा– झापाको बिर्तामोड, चारआली र काँकडभिट्टा क्षेत्रमा केही तेस्रोलिंगी व्यक्तिहरूले नील हिरा समाजको कार्ड देखाएर चन्दा सङ्कलन गरेको पाइएको छ। नायक रुबिना किन्नर र नायक मेघा किन्नरको तस्बिरसहितको कार्ड दिँदै चन्दा सङ्कलन गरिएको पाइएको हो।
कार्डमै ‘बिना परिचयपत्र कसैलाई पनि अनुदान नदिनु होला’ भन्ने उल्लेख गरिएको छ। अझ ‘नक्कली किन्नरदेखि सावधान’ भन्ने नोटसमेत राखिएको छ। बिर्तामोडका स्थानीयले जबरजस्ती चन्दा सङ्कलन गर्ने कार्य नियन्त्रण गर्न माग गरेका छन्।
नील हिरा समाजको परिचयपत्र देखाउँदै रकम नै तोकेर चन्दा माग्ने कार्य बढेको भन्दै स्थानीयले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्। स्थानीयका अनुसार मागिएको रकम नदिए गालीगलौज गर्ने, अपशब्द प्रयोग गर्ने तथा अभद्र व्यवहार गर्ने घटनाहरू बढेका छन्।
प्रतिष्ठित संस्थाको नाम र परिचयपत्र प्रयोग गरेर दबाब सिर्जना गरिँदा स्थानीयमा डर र त्रास फैलिएको गुनासो छ। कार्डमा नील हिरा समाजको नाम उल्लेख भएकाले संस्थाकै निर्देशनमा यस्तो गतिविधि भइरहेको हो कि भन्ने आशङ्का समेत स्थानीयले व्यक्त गरेका छन्।
स्थानीयवासीका अनुसार चन्दा सङ्कलनमा संलग्न समूहले रुबिना नेपालको नाम प्रयोग गर्ने गरेका छन्। “पावरफुल ठाउँबाट आएका हौँ” भन्दै रकम तोक्ने र नदिए गालीगलौजमा उत्रने गरेको चारआलीका एक स्थानीयले नाम नखुलाउने सर्तमा बताए।
स्थानीयका अनुसार सार्वजनिक सवारीसाधनमा समेत तेस्रोलिंगीहरूलाई चन्दा माग्न पठाउने गरिएको आरोप छ। तेस्रोलिंगीहरूलाई एउटै घानमा हालेर हेर्ने दृष्टिकोण समान नरहेको गुनासो भने स्वयं तेस्रोलिंगी समुदायको छ।
बिर्तामोड नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत तथा सूचना अधिकारी जय तिम्सिनाले तेस्रोलिंगीहरूले चन्दा सङ्कलन गरेको जानकारी नगरपालिकामा आएको बताए। ८ देखि १० जनाको समूहमा चन्दा माग्ने गरेको जानकारी प्राप्त भएको उनले बताए।
नगरपालिकाले औपचारिक रूपमा छलफल भने गर्न नपाएको उनले बताए। “सबै थाहा छ, त्यसलाई कसरी लिने भनेर मेयरसाबको चेम्बरमा छलफल भएको हुनुपर्छ,” उनले भने, “नगरपालिकाले अनौपचारिक रूपमा जानकारी पाएको छ, औपचारिक जानकारी आएको छैन।”
चन्दा सङ्कलन गर्ने कार्यमा संलग्न मेघा किन्नरले नील हिरा समाजको कार्ड आफ्नै रहेको स्वीकार गरिन्। नील हिरा समाज आफूहरूको पहिचान भएको उनले बताइन्। “आफ्नो पहिचान खोज्ने अधिकार छैन र ?” उनले प्रश्न गरिन्। “नील हिरा समाजको कार्ड बोक्दा कसलाई के भयो र ?”
उनले आफूहरू ‘दुवा–आशीर्वाद’ दिने काम गर्ने बताइन्। अरूलाई डिस्टर्ब नगरेको दाबी पनि गरिन्। स्थानीयको आरोप अस्वीकार गर्दै उनले रकम तोकेर चन्दा नमागेको बताइन्।
“नील हिरा समाजको अफिसबाटै कार्ड बनाएको हो। अरूले पनि कार्ड बोकेर चन्दा माग्ने गरेका छन्,” उनले भनिन्, “रकम तोक्दैनौँ, हजार–पाँच सय स्वेच्छाले दिएको लिने हो।”
तेस्रोलिंगी भगवान्को आशीर्वाद भएको बताउँदै उनले रोजीरोटी र कामधन्दा केही नहुँदा चन्दा माग्नु बाध्यता भएको सुनाइन्। आफूसँग १०–२० जनाको फौज नरहेको, एक–दुई जना मात्रै रहेको उनको भनाइ छ।
उनले आफूहरूको मात्रै नभई अन्यत्र सबै ठाउँमा तेस्रोलिंगीलाई चन्दा माग्ने काम बन्द गराउन चुनौती दिइन्। बालबच्चा भएकाहरूले पनि तेस्रोलिंगीको नाममा चन्दा माग्ने गरेको उनले बताइन्। डुप्लिकेट तेस्रोलिंगीलाई नियन्त्रण गर्नुपर्ने उनको माग छ।
उनले नील हिरा समाजको कार्ड देखाएर माग्न जानु गल्ती नभएको बताइन्। “अफिसको कार्ड लिएर अरूले पनि आफूले जस्तै गरिरहेका छन्,” उनले भनिन्, “नील हिरा समाजकी रुबिना नेपाल हामी साथीसाथी हौँ, थप उहाँलाई बुझ्नुहोला।” उनले तेस्रोलिंगीहरू सडकमा स्वतन्त्र तरिकाले हिँड्न पाउनुपर्ने बताइन्।
रुबिना नेपाल नील हिरा समाज ब्लु डायमन्ड सोसाइटी झापा दमक शाखामा कार्यक्रम संयोजकका रूपमा कार्यरत छिन्। मेघा किन्नरको कार्डमा रुबिना किन्नरको फोटोसहितको परिचयपत्र रहेको छ, जुन चन्दा दाताहरूलाई दिने गरिएको छ।
यस घटनाले समाजमा सम्मानपूर्वक जीवनयापन गरिरहेका तेस्रोलिंगी समुदायको छविमा नकारात्मक असर पार्ने भन्दै चिन्ता व्यक्त गरिएको छ। लामो सङ्घर्षपछि समाजमा घुलमिल हुँदै आफ्ना अधिकार र पहिचान स्थापित गर्दै आएको तेस्रोलिंगी समुदायलाई केही व्यक्तिको गतिविधिले बदनाम बनाउन नहुने स्थानीय र अधिकारकर्मीहरूको धारणा छ।
जिल्ला प्रहरी कार्यालय झापाले ब्लु डायमन्ड सोसाइटीको नाममा भएको चन्दा आतङ्कबारे जानकारी प्राप्त भएको जनाएको छ। प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले यसबारे थप बुझ्ने जानकारी दिए।


