
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
काठमाडौं, १ वैशाख, काठमाडौं महानगरपालिका १६ बालाजु चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित सोही महानगरपालिका १६ माछापोखरी बस्ने नुवाकोट घर भएका २२ वर्षीय सुदिप कालेकोटेलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ किलो ३ सय २० ग्राम सहित भारतीय नागरिक ३१ वर्षीय अजय सिंहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । क्याथे प्यासेफिक एयरको उडानद्वारा हङकङबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त गाँजा सहित पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका(४ चियादोकानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम र नगद १३ हजार रूपैयाँ सहित सोही नगरपालिका ९ बस्ने २८ वर्षीय मनिश श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका ९ चियाबगान माछाखाँडी बस्ने ३० वर्षीय पपे भन्ने राजु सुनुवारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका १५ बगरकोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८ ट्याब्लेट र डिकोलिक ८ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २० वर्षीय विधित विश्वकर्मालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका २ भानुचोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ट्याब्लेट, ट्रामाडोल ४ ट्याब्लेट र डिकोलिक ८ ट्याब्लेट सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका १५ बस्ने २० वर्षीय विकास विश्वकर्मा र २८ वर्षीय विश्व राई रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका ७ बस्ने ३५ वर्षीय शिव विश्वकर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका(६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ८० ट्याब्लेट, डाइक्लोमाइन १ हजार ५ सय ९० ट्याब्लेट र नगद ६ हजार ८ सय रूपैयाँ सहित भोजपुर, भोजपुर नगरपालिका ७ बस्ने २१ वर्षीय युजिन श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, रामग्राम नगरपालिका ८ कुनवार चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ सय एम्पुल, फेनारगन ५ सय एम्पुल र बुप्रेनोर्फिन ५ सय एम्पुल सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पालिनन्दन गाउँपालिका ६ पडरी बस्ने २३ वर्षीय रामदिप पछिमा थारू र २५ वर्षीय रामबचन यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम समेतबाट खटिएको प्रहरीले युपि ५६ एडब्लु ०९२६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका ५ थसीखेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ५० मिलिग्राम, नगद ८ हजार ५ रूपैयाँ, विदेशी मुद्राहरू र डिजिटल तराजु १ थान सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने झापा घर भएका ३७ वर्षीय दिलिप कुमार गिरी र सुनसरी घर भएका ३७ वर्षीय अजय गुरूङ रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिलिपको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, १ वैशाख, ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका १ बाँसखर्क बस्ने ३१ वर्षीय लोब्साङ बोम्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीमा पीडितलाई २०८२ साउन १२ गते खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परी हिरासतमा रहेका र २०८२ भदौ २४ गतेको आन्दोलनमा प्रहरी वृत्त बौद्धको हिरासतबाट भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका १ बाँसखर्कबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।
सर्विया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौं, १ वैशाख, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्विया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गुल्मी धुर्कोट गाउँपालिका ३ घर भएका ३४ वर्षीय रामलाल राजवंशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
रामलालले सर्विया पठाइदिन्छु भनी १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका १२ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, १ वैशाख, ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका ८ बस्ने पाँचथर घर भएका ४२ वर्षीय राम प्रसाद योङहाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
ठगी सम्बन्धी मुद्दामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका ८ टिकाथलीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
मोरङ, १ वैशाख, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लाबारी नगरपालिका १ बानडाँडा बस्ने ४० वर्षीय दिनेश माझीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दिनेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


