
स्रष्टा साँझ अमेरिकाको आयोजनामा चैत २९ गते आइतवार, zoom प्रविधिमार्फत् भएको सो कार्यक्रममा परिचर्चाकारहरू सत्या अधिकारी , डा। कुसुमाकर शर्मा गौतम , दीपक लोहनी र खेमराज पोखरेलले कृतिमाथि लघुकथाका सैद्धान्तिक मान्यताका आधारमा परिचर्चा गर्नु भयो ।
परिचर्चाकार सत्या अधिकारीले कृतिभित्रबाट समीक्षा शीर्षकको लघुकथा वाचन गर्नु भयो । वाचित लघुकथाले शैक्षिक वेतिथिमाथि बुलन्द आवाज उठाएको , समस्या देखाउने तर समाधान नखोज्ने मानवीयप्रति कटाक्ष गरेको टिप्पणी गर्नु भयो ।
कृतिका भूमिका लेखक र कार्यक्रमका परिचर्चाकार डा। गौतमले कालखण्ड दोष मुक्त भएको सङ्ग्रहकारूपमा कृति आएको बताउनु भयो । छोटाकथा र लघुकथाको बीचमा भिन्नता पहिचान गर्न लघुकथामा देखिनु पर्ने लघुत्व , क्षणिकता र प्रभावकारिताको विचार प्रस्तुत गर्नु भयो ।
परिचर्चाकार दीपक लोहनीले आवाज लघुकथाकृतिले उठाएका विचारप्रति आफ्ना धारणा प्रस्तुत गर्नु भयो । कृतिभित्रका १२२ वटा लघुकथाहरूमा कृतिकारले समाचार , सामाजिक घटनाहरू र जीवन भोगाइका विविध अनुभवलाई लघुकथामा पस्केका छन् । समाजमा व्याप्त अन्धविश्वास , कुप्रथा , विभेद , नारी चेतना, बाल र पुरूष मनोविज्ञान ,वैदेशिक रोजगारीका पीडाहरूका विरूद्धमा सशक्त आवाज उठाएका छन् । ग्रामिण परिवेश , आञ्चालिक र स्थानीय लवजहरूको सन्तुलित प्रयोग गर्नुले लघुकथामा मिठास रहेको बताउनु भयो । अविधाको अर्थमा लघुकथाहरु बढी रहेका छन् भने लक्षणाका आधारमा न्यून र व्यञ्जनाका आधारमा प्रमुखरूपमा आएको धारणा प्रष्ट पार्नु भयो । नियमितरूपमा लघुकथा लेख्ने स्रष्टा पाण्डेको लेखनप्रतिको सक्रियता लोभलाग्दो छ तर पनि कृतिकारले धैर्य र चिन्तन मनन गरेर लेख्ने हो भने एउटा सफल लघुकथाकारको रूपमा स्थापित हुन सक्ने विचार राख्नु भयो ।
परिचर्चाकार खेमराज पोखरेलले लघुकथाहरूमा पाइने सबल र दुर्वल पक्षबारे बिहङ्गम दृष्टि प्रस्तुत गर्नु भयो । आमाप्रतिको सम्मान भाव, अर्ज्ञानिक भाषा , विविध विषय , स्वैरकल्पना र व्यङ्ग्यको प्रयोग , लघुत्व र क्षणिकता पाइनु , लघुकथाका सबल पक्ष हुन् । कौतुहूलताको क्षय , विषयको दोहोरोपन , फितलो सम्पादन , परम्परावादी विचार , प्राभवकारिता कम हुनु , कथ्य चयनमा कमजोरी , केही लघुकथामा समापनको बिस्तार र छोटोकथा बनेको बताउँदै आगामी दिनमा सचेत रहन सुझाव दिनु भयो ।
कार्यक्रममा उपस्थित कृतिका सम्पादक वसन्त अनुभवले बोलेको, देखेको कुरालाई दुरूस्तै लेख्ने स्वभावले गर्दा कमीकमजोरी रहनु स्वभाविक ठान्नु भयो । औपचारिक शिक्षा नभएपनि छिटो र नियमितरूपमा लेख्ने स्रष्टाको कलमको प्रशंसा गर्नु भयो ।
प्रा। विश्वराज अधिकारीले सञ्चालन गर्नु भएको सो कार्यक्रममा लता के। सी र प्रकाशकका तर्फबाट यम रेग्मीले कृतिगत सफलताको लागि कृतिकारलाई शुभकामना र बधाई दिनु भयो ।
कार्यक्रमको अन्त्यमा कृतिकारले सबैलाई धन्यवाद दिँदै लघुकथा लेखनको प्रेरणा , लेखनयात्राका अनुभूति र प्रभावबारे आफ्नो धारणा राख्नु भयो ।


