
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नागढुङ्गा–मुग्लिङ सडक सुधार आयोजनाको गृहमन्त्री सुधन गुरुङले स्थलगत अनुगमन गरेका छन् । स्थलगत अनुगमनका क्रममा निर्माण कार्यमा ढिलासुस्ती नगर्न आग्रह गर्दै गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
गृहमन्त्री गुरुङले आयोजनाको नौबिसे–मलेखु र मलेखु–मुग्लिङ सडकखण्डको वस्तुस्थितिबारे विस्तृत जानकारी लिएको थिए । उनले अनुगमनका क्रममा निर्माण व्यवसायीहरूलाई निर्धारित समयमै र उच्च गुणस्तरका साथ काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।
आयोजनाले गृहमन्त्रीसमक्ष पेश गरेको प्रतिवेदनमा निर्माण सामग्रीको अभाव रहेकाले काममा ढिलाइ भएको उल्लेख गर्दै स्थानीय तहको अवरोध रहेकाले नदीजन्य र खानीजन्य सामग्री उत्खननमा कानूनी र प्रशासनिक जटिलताका रहेकाे बताएकाे थियाे ।
त्यसेगरि विगतमा क्रसर उद्योगहरू बन्द हुँदा निर्माण सामग्रीको आपूर्तिमा परेको गम्भीर असरका साथै विभिन्न स्थानीय तहहरूले लिने दोहोरो कर प्रणाली र राजश्व दरमा एकरूपताको अभाव, एक पालिकाबाट अर्को पालिकामा सामग्री ढुवानी गर्दा हुने प्रशासनिक झन्झट, खानी उत्खननका लागि आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन र स्वीकृतिको ढिलाइ, आयोजनाले नयाँ सरकारसँग विभिन्न स्थानहरूबाट आवश्यक परिमाणमा निर्माण सामग्री उपलब्ध गराइदिन र ढुवानीमा सहजीकरण गरिदिन माग गरेको छ ।
उक्त समस्याहरू समाधानका लागि सरकारले अन्तर–मन्त्रालयसँग समन्वय गरी आवश्यक सहजीकरण गर्ने आश्वासन सहित विकास निर्माणका कार्यमा हुने राजनीतिक हस्तक्षेप र प्रशासनिक झन्झटलाई चिर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


