
विदेश जाने नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कुनै पनि किसिमका बिल वा रसिदहरू नचाहिने भएको छ । अध्यागमन विभागले एक सूचना जारी गर्दै अध्यागमन कार्यालयमा कुनै पनि किसिमका बिल वा रसिदहरू पेश गर्नु नपर्ने बताएकाे हाे ।
पछिल्लो समय विमानस्थलमा श्रमिकहरूले बिल र रसिदसमेत बोक्नुपर्ने हल्ला फैलिएपछि विमानस्थलमा भिडभाड र अन्यौलता बढेकाले विभागले राहदानी र आधारभूत कागजात मात्र देखाए पुग्ने जनाएको हाे ।
विभागका अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति र राहदानी र आधारभूत कागजात मात्र देखाए पुग्ने र भिजिट भिसामा विदेश जाने नागरिकहरूको हकमा कम्तीमा ६ महिनाको वैध राहदानी, सम्बन्धित देशको भिसा र दुईतर्फी हवाई टिकट भएमा स्वघोषणा फारम भरेर सजिलै यात्रा गर्न सक्ने बताइएकाे छ ।
त्यस्तै विभागले प्रचलित कानुन र मन्त्रिस्तरीय निर्णय अनुसार श्रमिकहरूलाई प्रस्थान अनुमति दिँदा अतिरिक्त झन्झट नदिइने स्पष्ट पारेको छ । यसअघि भिजिट भिसामा जानेहरूले विभिन्न अनावश्यक कागजात जुटाउनुपर्ने बाध्यतालाई गृह मन्त्रालयको निर्णयले हटाएको थियो ।
जारी सूचनाअनुसार अध्यागमन विभागले कुनै किसिमको भ्रममा नपरी आफ्नो गन्तव्य मुलुकका बारेमा पूर्ण रूपमा सुसूचित भइ निर्धक्कसँग यात्रा गर्न सबै नेपाली नागरिकलाई आग्रह समेत गरेको छ ।


