Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

प्रहरी समाचार

२६ बिहिबार , चैत्र २०८२१९ घण्टा अगाडि

प्रहरी समाचार

नागरिकको अपेक्षा अनुरूप काम गर्न निर्देशन
काठमाडौं, २५ चैत, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकलाई केन्द्रबिन्दुमा राखेर उनीहरूको समस्या एवम् गुनासोको उचित सम्बोधनका साथै नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको    छ । 
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो ।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कार्यालयहरूमा आउने सेवाग्राहीहरूलाई छिटो र छरितो काम गरी दिने प्रभावमा पारी वा प्रलोभन देखाउने जस्ता गतिविधिमा संलग्न बिचौलियाहरूलाई तत्काल कानुनी दायरामा ल्याई बिचौलिया रहित, कानुन सम्मत, पारदर्शी र छिटो छरितो प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । प्रत्येक प्रहरी कार्यालयहरूले नागरिक सहजकर्ता व्यवस्था गरी सेवाग्राहीहरूलाई सरल र सहज रूपमा प्रहरी सेवा प्रदान गरी भए गरेका प्रगति विवरणको सूचना सेवाग्राहीलाई एसएमएस मार्फत जानकारी गराउन समेत उहाँले निर्देशन दिनुभयो । शून्य सहनशीलताको नीति अनुरूप प्रचलित कानुनद्वारा निर्देशित विधि र पद्धतिको पालना गर्दै निष्पक्ष, पारदर्शी र गुनासो रहित सेवा प्रवाह गर्न सबै प्रहरी कर्मचारीहरू सदैव कटिबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले पारदर्शी एवम् बस्तुनिष्ठ अपराध अनुसन्धानमा विशेष जोड दिनुपर्ने बताउँदै सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, गुण्डागर्दी, तस्करी नियन्त्रण एवम् प्राकृतिक स्रोतको दोहन जस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन खरो रूपमा प्रस्तुत हुन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । सबै प्रहरी कर्मचारीहरूले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान एवम् इमानदार हुनुपर्ने उल्लेख गर्दै उत्कृष्ट व्यवहार, बोली एवम् बचनलाई आत्मसात् गरी तोकिएको जिम्मेवारी उत्कृष्ट रूपमा वहन गर्न निर्देशन दिनुभयो । आ(आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन आवश्यकता अनुरूप सुरक्षा योजना एवम् रणनीति अवलम्बन गर्दै योजनाबद्ध तवरले प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्दै सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला निकायसँग समन्वय गरी थप क्रियाशील हुनुपर्ने एवम् सचेतना अभिवृद्धि गर्नुपर्नेमा समेत विशेष ध्यान दिई कार्य गर्नुपर्ने उहाँले बताउनुभयो । 
प्रहरी महानिरीक्षक कार्कीले आ-आफ्नो कार्यक्षेत्रमा हुन सक्ने संभावित विपद् जन्य घटनाहरूमा जनधनको क्षति  न्यूनीकरण गर्नको लागि विशेष सतर्कता अपाउनुपर्ने उल्लेख गर्दै विपद्का घटनाहरू सम्बन्धी पूर्वअभ्यासहरूलाई प्राथमिकतामा राखि प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्ने बताउनुभयो । विपद्को समयमा उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी जोखिमका क्षेत्रहरूमा सचेतना फैलाउने र विभिन्न निकायहरूसँग समन्वय गरी उद्दार कार्यमा थप प्रभावकारी रूपमा परिचालित हुन समेत उहाँले सबै प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । साथै भीड नियन्त्रण तथा व्यवस्थापनमा विगतका कमी कमजोरीहरूलाई सुधार गर्दै बल प्रयोगको सिद्दान्तलाई अवलम्बन गरी पूर्वअभ्यासमा जोड दिई प्रहरी कर्मचारीहरू तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । सम्पूर्ण प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोग एवम् प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा समेत आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्ने उहाँले निर्देशन दिनुभयो । 
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले समेत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।  
कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत मुद्दा चल्ने इकाईसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
काठमाडौं, २५ चैत, कैलाली, धनगढी उपमहानगरपालिका ८ मोती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम ३ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका(७ बस्ने २५ वर्षीय मुकेश रानालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको   छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो । 
डडेलधुरा, अमरगढी नगरपालिका ५ बागबजार बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित बैतडी दोगडाकेदार गाउँपालिका ७ बस्ने ३४ वर्षीय बिरेन्द्र सिंह कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
सिराहा, सिरहा नगरपालिका १५ बुधौराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका १२ बस्ने १९ वर्षीय अभिषेक मुखिया, २१ वर्षीय अरबिन सिंह र धनगढीमाई नगरपालिका ३ बस्ने १९ वर्षीय अभिषेक मुखिया रहेका छन् ।  प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०१.००४ प २६८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
सुनसरी, इनरूवा नगरपालिका ४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका १७ बस्ने ३० वर्षीय असिम राई र ३० वर्षीय चिरञ्जिवी राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को.३९ प ५९३७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
झापा, मेचीनगर नगरपालिका ६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ५० मिलिग्राम सहित कमल गाउँपालिका ६ बस्ने २४ वर्षीय नवराज भट्टराईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
भक्तपुर, सूर्यविनायक नगरपालिका ६ पाण्डुबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध बस्ने काभ्रे घर भएका ३० वर्षीय राजकुमार तामाङ र भक्तपुर पाण्डुबजार बस्ने नलिञ्चोक घर भएका ३७ वर्षीय प्रणय केसी रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
भोजपुर, २५ चैत, षडानन्द नगरपालिका(१३ बस्ने २४ वर्षीय सम्मर बहादुर तामाङको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १४ बेखम्चा बस्ने २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्र कुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जी रहेका छन् । 
उनीहरूले कुटपिट गर्दा सम्मर बहादुरको मंगलबार राति घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बोयाँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

भरूवा बन्दुक सहित पक्राउ
गोरखा, २५ चैत, आरूघाट गाउँपालिका २ मान्बुवेशी बस्ने ३४ वर्षीय बाबुराम बोगोटीलाई भरूवा बन्दुक १ थान र बारूद सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 
बाबुराम र सोही ठाउँ बस्ने ३५ वर्षीय सन्तोष परियारबीच सामान्य वादविवाद भई झैझगडा हुँदा बाबुरामले भरूवा बन्दुकको डाब प्रहार गर्दा सन्तोष सामान्य घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मान्बुबाट खटिएको प्रहरीले बाबुरामको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि सन्तोषलाई समेत नियन्त्रणमा लिएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं, २५ चैत, कैलाली, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लम्कीचुहा नगरपालिका ८ सोनपुर बस्ने ३० वर्षीय कासिम अलि जागालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । कासिमले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
कपिलवस्तु, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका ५ ग्यालेक्सी टोल बस्ने २५ वर्षीय चन्दन तिवारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । चन्दनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
ओखलढुङ्गा, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रौतहट देवाही गोनाही नगरपालिका ६ बस्ने ४९ वर्षीय चुनचुन साह कानुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चुनचुनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट केतुकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

स्रोत नखुलेको नगद सहित चार जना पक्राउ
ललितपुर, २५  चैत, ललितपुर महानगरपालिका २ सानेपा सुन्दरीघाटबाट स्रोत नखुलेको नगद ७ लाख ८८ हजार रूपैयाँ सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका ५ घर भएका ६० वर्षीय देव कुमार लामा, खोटाङ रूपाकोट मझुवागढी नगरपालिका(११ घर भएका ४३ वर्षीय पवन तामाङ, सर्लाही बागमती नगरपालिका १० घर भएका ३९ वर्षीय ईन्द्र विक र सर्लाही बागमती नगरपालिका ६ घर भएका ३२ वर्षीय दिनेश विक रहेका छन् । ललितपुर सानेपा सुन्दरीघाटमा हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मकाउ पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं, २५ चैत, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मकाउ पठाइदिन्छु भन्नै रकम ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका १२ बस्ने ओखलढुङ्गा घर भएका ४५ वर्षीय राजेन्द्र खड्कालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
राजेन्द्रले मकाउ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ८३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका(१२ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ ।

बैंकिङ सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, २५ चैत। बैंकिङ सम्बन्धी कसूर मुद्दाका फरार २ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर नगरपालिका ५ घर भएका ३१ वर्षीय निकेश तामाङ र भक्तपुर सूर्यविनायक नगरपालिका(४ बालकोट बस्ने काठमाडौं घर भएकी ३६ वर्षीया रिता प्रधान पौडेल रहेका छन् । 
जिल्ला अदालत काठमाडौंबाट २०८२ जेठ २७ गते र २०८२ माघ ४ गतेको फैसला बमोजिम बैंकिङ कसुर मुद्दामा नगद ४ लाख ७५ हजार रूपैयाँ जरिवाना र ४ महिना ५ दिन कैद तथा क्षतिपुर्ती १९ हजार रूपैयाँ ठहर भई फरार रहेका निकेशलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तार्केश्‍वर नगरपालिका ५ बाट सोमबार पक्राउ गरेको हो । यसैगरी जिल्ला अदालत काठमाडौंबाट २०८२ माघ ४ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा नगद ३७ हजार ५सय रूपैयाँ जरिवाना र २ दिन कैद तथा क्षतिपुर्ति १ हजार ५ रूपैयाँ ठहर भई फरार रहेकी रितालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका(४ बालकोटबाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई फैसला कार्यान्यवनको लागि जिल्ला अदालत काठमाडौं बबरमहलमा उपस्थित गराईएको छ ।

नागरिकता कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, २५  चैत, नागरिकता सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका(१४ कुलेश्‍वर बस्ने रौतहट घर भएका ५९ वर्षीय बाबुनन चौधरी कलवारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत गौर रौतहटबाट २०८२ भदौ २ गते नागरिकता सम्बन्धी कसुर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १३ कलंकीबाट पक्राउ गरेको हो ।

चोरीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ
काठमाडौं, २५ चैत, स्कुटर चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं चन्द्रागिरी नगरपालिका १५ कालुपाण्डे बस्ने खोटाङ घर भएका ३१ वर्षीय उमेश पुरीलाई  सोमबार प्रहरीले पक्राउ गरेको छ ।
गत चैत २ गते बा.प्र.०२.०४३ प ५३७६ नम्बरको स्कुटर बिक्रीको लागि अनलाईन विज्ञापन गरेकोमा सोही दिन उमेशले भक्तपुर सूर्यविनायक नगरपालिका २ बालकोटबाट उक्त स्कुटर टेष्ट गर्छु भनि लिएर गई फरार भएको घटनामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अपराध शाखा ठिमीबाट खटिएको प्रहरीले उनलाई काठमाडौं तीनकुनेबाट उक्त स्कुटर सहित पक्राउ गरेको हो ।

भरूवा बन्दुक बरामद
मकवानपुर, २५ चैत, बागमती गाउँपालिका ७ धनसाई मगरटोलबाट भरूवा बन्दुक १ थान मंगलबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय फारपबारीबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
काठमाडौं, २५ चैत, काठमाडौं महानगरपालिका-९ भत्केकोपुलबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ हजार ७० एम्पुल, नोर्फिन १ हजार १ सय १५ एम्पुल र फेनारगन १ हजार ८० एम्पुल सहित सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएका ४२ वर्षीय सन्तोष कुँवरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही महानगरपालिका ९ गैरीगाउँस्थित उनकै डेरा कोठा तलासी गर्दा नगद ३ लाख ११ हजार ५ सय ५०, विभिन्न देशका मुद्राहरू र सुन जस्तो देखिने धातुका विभिन्न गरगहनाहरू समेत फेला पारी प्रहरीले बरामद गरेको छ । 
तनहुँ, आँबुखैरेनी गाउँपालिका(४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६९ एम्पुल, फेनारगन ६६ एम्पुल र बुप्रेनोर्फिन ६५ एम्पुल सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका १२ बस्ने ३१ वर्षीय सुरज गुरूङ र काठमाडौं गौशाला बस्ने २३ वर्षीय प्रेम सार्की रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख १४०५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
भक्तपुर, भक्तपुर नगरपालिका ८ लिवालीबाट नियन्त्रित लागूऔषध नोर्फिन ९६ एम्पुल, डाइजेपाम ९८ एम्पुल, फेनारगन ९१ एम्पुल र टेन्टाडोल ५४ ट्याब्लेट सहित भक्तपुर लिवाली बस्ने भक्तपुर नगरपालिका(१ दुधपाटी घर भएका ३७ वर्षीय राजु कर्मचार्यलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 
    
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
उदयपुर, २५ चैत, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रौतामाई गाउँपालिका ७ धाङ्गले बस्ने २४ वर्षीय बले भन्ने बल बहादुर श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बल बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नियन्त्रित लागूऔषध ट्रामाडोल बरामद
पर्सा, २५ चैत, वीरगंज महानगरपालिका १६ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५१ हजार २ सय ट्याब्लेट बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको ४ वटा झोलाबाट रहेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । 
    
भरूवा बन्दुक बरामद
सिन्धुली, २५ चैत, फिक्कल गाउँपालिका १ महादेव डाँडास्थित दमार जंगलबाट भरूवा बन्दुक १ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी तोश्रामखोलाबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।