
भक्तपुरकाे महेश्वरी पीठ क्षेत्रमा मृत भेटिएका कागहरूमा बर्ड फ्लुको एज ९ भाइरस फेला परेको छ । गत बिहीबार स्थानीयले कागहरू मरिरहेका जानकारी गराएपछि काठमाडौंको टेकुस्थित अनुसन्धान प्रयोगशालामा पठाइएको र त्यहाँबाट प्राप्त रिपोर्टमा बर्डफ्लुको एज ९ भेरियन्ट भेटिएको भक्तपुर नगरपालिकाको सूचना अधिकारी दामोदर सुवालले जनाएका छन् ।
पशुपन्छी शाखाकी प्रमुख पार्वती योन्जनका अनुसार उक्त भेरियन्ट मानिसमा नसर्ने तर, पन्छीहरुमा सर्ने जोखिम भने रहने भएकाले नगरपालिकाले कुखुरा लगायत पन्छी फारमहरुमा उच्च सतर्कता अपनाउन किसान र व्यवसायीलाई आग्रह गरेको छ ।
भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिका अनुसार बर्ड फ्लु फेला परेको पुष्टि भएपछि कुखुरा तथा अन्य पन्छीमा रोग सर्ने जोखिम भएकाले विशेष सावधानी अपनाइएको बताइएकाे छ । संक्रमित पन्छीसँगको प्रत्यक्ष सम्पर्क र दाना–पानीमार्फत रोग फैलन सक्ने भएकाले किसान तथा व्यवसायीलाई सार्वजनिक सूचना मार्फत सतर्क गराइएको छ ।


