Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

अनलाइन सट्टेबाजी गर्ने सात हजारभन्दा बढी ‘वेबसाइट’ बन्द

२२ आइतबार , चैत्र २०८२१२ घण्टा अगाडि

अनलाइन सट्टेबाजी गर्ने सात हजारभन्दा बढी ‘वेबसाइट’ बन्द

सरकारले ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द गरेकाे छ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो ।

सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा उक्त ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द गरेकाे बताइएकाे छ । अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिए अनुसार बन्द गरिएकाे नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछाने जनाएका छन् ।

अनलाइन सट्टेबाजीबारे पछिल्लो एक सातामा प्राधिकरणलाई टेलिफोन, इमेल, म्यासेजलगायत विभिन्न माध्यमबाट ५० भन्दा बढी गुनासा प्राप्त भएकाे र सबैलाई सम्बोधन गर्दै कारबाही अघि बढाइएको पनि लामिछाने बताएका छन् । मन्त्रिपरिषद्को चैत १३ गते बसेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये बुँदा नम्बर ४२ मा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने उल्लेख गरिएकाे छ ।

उक्त निर्णय बमाेजिम प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी विद्युतीय माध्यममार्फत सञ्चालन भइरहेका सट्टेबाजीसम्बन्धी सबै पहिचान भएका एप तथा वेबसाइट तत्काल बन्द गरेको हो । मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (४) अनुसार कसैले सट्टेबाजी गर्न वा गराउन पाइँदैन ।

सरकारले सट्टेबाजी एप तथा वेबसाइट प्रयोग तथा सञ्चालन नगर्न आग्रह गर्दै शंकास्पद एप वा वेबसाइटबारे जानकारी भएमा सम्बन्धित निकायमा सूचना गर्न समेत आग्रह गरेको छ ।