Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

माथिल्लो मुस्ताङमा भारी हिमपात

२२ आइतबार , चैत्र २०८२१३ घण्टा अगाडि

माथिल्लो मुस्ताङमा भारी हिमपात

शनिबार रातिदेखि माथिल्लो मुस्ताङ क्षेत्रमा हिमपात भइरहेको छ । जिल्लाको माथिल्लो क्षेत्र र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो ।

माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा यसअघि गत कात्तिक १० गते पहिलो पटक हिमपात भएको थियो । अहिले भएकाे हिमपात जारी हिँउद यामको यो छैटौँ पटक हाे । माथिल्लो मुस्ताङ क्षेत्रका बस्ती र उच्च लेकमा शनिबार रातिदेखि भारी हिमपात भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जनाएका छन् ।

माथिल्लो मुस्ताङमा क्षेत्रमा एक फिटसम्म हिउँ परेको छ भने स्वाङवचेदेखि माथि घिलिङ, घमी, चराङ, लोमान्थाङ, ठिङ्गर, छोसेर, सम्जुङ, नामासुङ, भर्सा, यारा, घारा, ढी र सुर्खाङलगायत स्थानमा छैटौँ पटक भारी हिमपात भएको हो ।

हिमपातका कारण स्थानीय जनजीवन प्रभावित बनेको छ । शनिबार रातिदेखि परेको हिमपात अझै नरोकिएको र हिउँ पर्ने क्रम निरन्तर जारी रहेकाे बताइएकाे छ । माथिल्लो मुस्ताङमा उच्च लेकका चरन क्षेत्र पूरै हिउँले ढाकिएर सेताम्मे बनेका छ भने स्थानीय नागरिक तथा पशुपालन गर्ने किसानलाई हिउँले असर पुर्‍याएको छ ।

यसअघि मुस्ताङमा विगत तीन वर्ष हिउँ पर्न सकेको थिएन भने यस सिजनमा छ पटकसम्म हिउँ पर्नु जलवायुको असर भएको विश्लेसकहरू बताउँछन् । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा असमान प्रकारको हिमपात हुँदा कहिले भारी हिमपात हुने, कहिले आंशिक हिमपात र कुनै वर्ष हिउँ नै नपर्नेजस्ता प्राकृतिक असर देखिन थालेकाे छ ।