
लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
काठमाडौं, २१ चैत । काठमाडौं, चन्द्रागिरी नगरपालिका १४ नैकापबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ८६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २६ वर्षीय सम्राट केसीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, उर्लाबारी नगरपालिका ३ थापा चोक डेरा गरी बस्ने पथरीशनिश्चरे नगरपालिका(४ घर भएका ४३ वर्षीय योगेन्द्र तुङहाङ र ४४ वर्षीय कमल दाहाललाई नियन्त्रित लागूऔषध स्पास्पेन २ हजार ५ सय २० ट्याब्लेट, प्रोमेथाजाइन ३ सय ५० ट्याब्लेट, ट्रामाडोल ९ हजार ५ सय ७० ट्याब्लेट, नाइट्राजेपाम ५ सय ८५ ट्याब्लेट, अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय ९० मिलिग्राम, गाँजा जस्तो देखिने पदार्थ २ किलो २ सय ३० ग्राम र डिजिटल तराजु १ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका ३ आँपगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ४ माझी टोल बस्ने ३२ वर्षीय मनराज राई र १९ वर्षीय खगेन्द्र गौतम रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका १५ जमुनाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका(६ पिप्रहवा बस्ने ३२ वर्षीय सन्तराम चौहान र डुडुवा गाउँपालिका ४ खालेमसाहा बस्ने ३० वर्षीय भोला लोनिया रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहा समेतबाट खटिएको प्रहरीले भे.४ प ९२५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका १ धम्बोजीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४१ ग्राम ७ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका(१८ बस्ने २१ वर्षीय सुमेर शेष समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका ८ अनरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय रोहन बिक र २० वर्षीय उत्तम साउद रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौं, २१ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रूपन्देही बुटवल उपमहानगरपालिका २ बस्ने सल्यान कालीमाटी गाउँपालिका(७ घर भएका ५२ वर्षीय कर्ण बहादुर राउत, काठमाडौं नागार्जुन नगरपालिका ९ बस्ने तनहुँ भानु नगरपालिका १२ घर भएका ४२ वर्षीय आनन्द थापा, नवलपरासी पूर्व कावासोती नगरपालिका ३ घर भएकी ३९ वर्षीया राधिका पाठक पौडेल र काठमाडौं महानगरपालिका ३१ बस्ने मोरङ सुन्दहरैँचा नगरपालिका ३ घर भएका ४७ वर्षीय तिलक परियार रहेका छन् ।
पक्राउ मध्ये कर्ण बहादुरले फिनल्याण्ड पठाइदिन्छु भन्दै ११ जना पीडितहरूबाट ५७ लाख रूपैयाँ, आनन्दले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ, राधिकाले फिनल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख २० हजार रूपैयाँ र तिलकले सर्बिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कर्ण बहादुरलाई काठमाडौं महानगरपालिका ११ बाट, आनन्दलाई काठमाडौं महानगरपालिका २६ बाट, राधिकालाई काठमाडौं महानगरपालिका १२ बाट र तिलकलाई काठमाडौं महानगरपालिका(२९ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
अभौतिक मुद्राको कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ
काठमाडौं, २१ चैत । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका(२६ ठमेल बस्ने चीन घर भएका ३५ वर्षीय Zhu Yi Feng लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न सामाजिक सञ्जालबाट नेपाली नागरिकहरूसँग कुराकानी गरी विभिन्न किसिमका प्रलोभन देखाई विश्वासमा पारी नेपाली नागरिकहरूका बैंक खाताहरू समेत प्रयोग गरी ठगी गर्ने गरेको र ठगी गरेको रकमलाई अभौतिक मुद्रामा साटी कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी उक्त कार्यामा संलग्न उनलाई काठमाडौं महानगरपालिका२६ ठमेलबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले १७ करोड ७९ लाख ७० हजार ३ सय ७१ रूपैयाँ २३ पैसा बराबरको अभौतिक मुद्राको कारोबार गरेको खुल्न आएको छ ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


