
यसवर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएकाे छ भने उत्तरपुस्तिका परीक्षण पनि आजैदेखि सुरु गरिएको छ ।
परीक्षा भएको दिनकै उत्तरपुस्तिका परीक्षण सुरु गरिएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले जनाएका छन् । अधिकारीका अनुसार आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको र सोही विषयका कपीहरू आजैदेखि जाँच सुरु गरिएको बताइएकाे छ ।
आज चैत १९ गते बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिएको थियो भने परीक्षा सम्पन्न भएको केन्द्रमै उत्तरपुस्तिका परीक्षण भइरहेको छ । विद्यार्थीको उत्तरपुस्तिका परिक्षणका लागि सम्वन्धित विद्यालयका शिक्षकले नपाउने भएकाले अन्य विद्यालयका शिक्षकमार्फत परीक्षण गराउने व्यवस्था मिलाइएको अधिकारीले जनाएका छन् ।
अधिकारीका अनुसार शिक्षा विकास इकाइबाट खटिएका शिक्षकहरूको सूची केन्द्राध्यक्षलाई उपलब्ध गराएर सोही सूचीअनुसार केन्द्राध्यक्षको नेतृत्वमा परीक्षण कार्य अगाडि बढाइन्छ । साेहि अनुसार परीक्षण गराउने व्यवस्था मिलाइएको छ ।
त्यस्तै अन्य विषयकाे परिक्षाकाे उत्तरपुस्तिकाहरू पनि क्रमशः परीक्षण गरिने र परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी रहेको समेत अधिकारीले जनाएका छन् ।


