
गएकाे शुक्रबार साँझ परेकाे वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएकाे छ । आज बिहानदेखि राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा आएकाे हाे ।
अवरुद्ध राजमार्गमा यातायात सञ्चालनमा आए पनि मौसम प्रतिकूलतालाई ध्यान दिएर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय, काभ्रेले अनुरोध गरेको छ । यसअघि शुक्रबारदेखि परेको वर्षाले रोशी क्षेत्रमा अस्थायी सडकसमेत बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको थियाे ।
राेशी खोलामा पानीको सतह घट्दै गएपछि डाइभर्सन गरिएको सडक अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हाे । यसअघि कार्यालयले राजमार्ग नखुलेसम्म सवारी आवागनममा रोक लगाउँदै आएको थियो ।
शुक्रबारकाे बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्मका विभिन्न स्थानमा करिब चार किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो । सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा अस्थायी डाइभर्सन निर्माण गरी आज बिहानैदेखि सडक सञ्चालनमा ल्याइएकाे हाे ।
यसअघि गत वर्ष असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गरिएकाे थियाे ।
शुक्रबारको बाढी सडक अवरुद्ध भएपछि राजमार्गअन्तर्गत प्रवेशमार्गस्थल धुलिखेलको काभ्रेभन्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मङ्गलटारमा सवारी रोकिएको थियो ।


