
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
काठमाडौं, १४ चैत । रूपन्देही, सिद्धार्थनगर नगरपालिका १ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १७ ग्राम २ सय ४० मिलिग्राम र नगद ९० हजार ४ सय ८० रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(६ कर्णपथ बस्ने ४५ वर्षीय मोहम्मद नौषाद आलम र भारत महाराजगंज थाना सोनौली बस्ने २६ वर्षीय मोहम्मद युसुफ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवावाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका ६ लालपत्ता चोकबाट नियन्त्रित लागूऔषध ओपीडोल ७ सय ९० ट्याब्लेट, स्पास्पेन ८ सय ९० ट्याब्लेट र नाइट्राजेपाम ५ सय ४० ट्याब्लेट सहित सोही नगरपालिका ९ बस्ने २२ वर्षीय चुडामणी रायमाझीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लहानबाट गाईघाटतर्फ आउँदै गरेको स.१ ज ५०३ नम्बरको गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका ८ शुक्रबारेबाट अवैध लागूऔषध गाँजा करिब २५ किलोग्राम सहित देवानगन्ज गाउँपालिका १ बस्ने २३ वर्षीय राकेश कुमार यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले बि ३८ एल २९६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेदकोट नगरपालिका १० राना दैजीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ९० मिलिग्राम सहित सोही नगरपालिका २ बस्ने ३९ वर्षीय केशव खत्री समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले म।१ च ७०८ नम्बरको जिपमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार जिप चालकको खोजी गरिरहेको छ ।
यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका ७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका ४ दया अमरपुर शिविर बस्ने ३० वर्षीय सन्जु चौधरी र उनकै श्रीमती २४ वर्षीया जानकी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से.५ प ६४२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका ६ गिरीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम ६ सय ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने भारत ठाकुरगंज घर भएका ३७ वर्षीय बेचन यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुर, महालक्ष्मी नगरपालिका(५ टिकाथली कलगैराचोकबाट नियन्त्रित लागूऔषैध ट्रामाडोल १ हजार ५ सय ट्याब्लेट सहित काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने काभ्रे घर भएका ३३ वर्षीय रमेश लामा भन्ने सुजन लामालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाथलीबाट खटिएको प्रहरीले बा.४९ प ५६९५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं, १४ चैत
आफ्नै श्रीमती ३७ वर्षीया बिमला रानाको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३२ छाप्रो चोक डेरा गरी बस्ने सल्यान छत्रेश्वरी गाउँपालिका(७ घर भएका ४२ वर्षीय तेज बहादुर रानालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
तेज बहादुरले कुटपिट गर्दा गम्भीर घाइते भएकी बिमलाको ट्रमा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
करणी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
ललितपुर, १४ चैत । जबरजस्ती करणी मुद्दामा फरार रहेका २ जना प्रतिवादीहरूलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका ७ बस्ने मुगु घर भएका ५२ वर्षीय कर्ण बहादुर मल्ल र झापा भद्रपुर नगरपालिका ८ बस्ने रामेछाप घर भएका ३१ वर्षीय अनुप श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले कर्ण बहादुरलाई ललितपुर महानगरपालिका(१५ बाट र अनुपलाई झापा भद्रपुर नगरपालिका ८ बाट पक्राउ गरेको हो ।


