Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

चन्द्रशेखरका मण्डेला, एमालेका मण्डले : रोशन कार्की -

१० सोमबार , आश्विन २०७३१० बर्ष अगाडि

२०२८ सालका झापा विद्रोहका अगुवा हुन् मोहनचन्द्र अधिकारी। उनका सहयोगी केपी ओलीदेखि झारपातेहरु प्रधानमन्त्री, मन्त्री भइसके, एमालेका दादाका रुपमा नयाँ नयाँ नेताहरु जन्मिरहेका छन्, ती मोहनचन्द्र अधिकारी कहाँ छन्, कस्तो स्थितिमा छन्, उनलाई कुन सम्मान दिनुपर्ने कसैले वास्ता गर्दैन। त्यसकारण मोहनचन्द्र अधिकारी भन्छन्– म अलि खस्रो छु, त्यही भएर नेताहरुका नजरमा पर्न सकिन। हो, नेताका नजरमा नपरेपछि साग कुहिएर गुन्द्रुक भएझैं मान्छे मोहनचन्द्रजस्तै को हो को हो? भएर हराउँछ। 
यिनै मोहनचन्द्र अधिकारीलाई चाक्सीवारीमा आएर नेपालमाथि बलात्कार गर्ने भारतका नेता चन्द्रशेखरले नेपालका नेल्शन मण्डेला भनेर न्वारान गरिदिए। आज पनि मोहनचन्द्र अधिकारीलाई नेपालका मण्डेला भनेर चर्चा गरिन्छ। त्यस्ता मण्डेलाले किन कुनै इज्जत, सम्मान पाएनन्, किन कसैले मोहनचन्द्र अधिकारीको खोजी गर्दैन? अजव नेपालमा गजब गजब देखिन्छ। ०२८ साले झापाबाट उदाएका सूर्य ०७३ सालमा आइपुग्दा अस्ताचल भइसके। अस्ताउँदो सूर्यलाई सलाम गर्ने प्रचलन छैन राजनीतिमा। त्यसैले मोहनचन्द्रको खोज खबर पनि कोही गर्दैनन्। एमालेभित्रका कसैले पनि यिनको खोजीखबर गरेको सुनिन्न। शायद वाकविधि भएछ क्यारे, ०२८ साले योद्धा, विद्रोहीको उँचो शिर यतिबेला नराम्ररी झुकेको छ। पश्चातापले पोलेकोहुनुपर्छ। आफैलाई भुल्न, आफ्ना विगतलाई बिर्सन मोहनचन्द्र अधिकारी आजकल आत्ममिमांसा पनि गर्छन्। सँगै लडेका, खाएका, जेलका चिसा छिँडीमा रात बिताएका साथीहरुले किन सम्झदैनन्? किन कसैले सम्झनासम्म गर्दैनन्? अव ७८ वर्षे बुढा मोहनचन्द्रसँग छ नै के र? लिन आउनु नेताहरु। उनी बितेका दिन पार्टीको झण्डा ओढाएर ओठे प्रशंसा गर्न आउलान्। दिक्दारी यस्तै छ। 
देखाउनका लागि मात्रै मोहनचन्द्रलाई एमालेले जेष्ठ कम्युनिष्ट मञ्च नाममात्रको संस्थामा राखेको छ। यो थन्क्याइएको कुरो उनले बुझेका छन्। मोहनचन्द्र राष्ट्रको नीति समदूरीमा स्थापित हुनुपर्छ भने पनि झलनाथ र माधव नेपालले त्यो पूरा गर्न सकेनन्, ओली त पूरै चीनतिर ढल्केको देखियो। तथापि अधिकारी तिनैजना नेतालाई मिलेर अघि बढ्न सुझाव दिन्छन्। सुझाव दिएर नै के गर्नु, मागेको सुझाव होइन, कसले सुनेको छ र? ०४६ सालमा जेलबाट छुटेका मोहनचन्द्रलाई त्यतित्रेलै चन्द्रशेखरले भेटेका हुन् र नेल्शन मण्डेला अफ नेपाल भनेर प्रशंसा गरिदिए। एमालेले पुछि फालेका मोहनचन्द्र त्यही पदवीका साथ चर्चित छन् वाम खेमामा। तर उनलाई कसैले इज्जत दिदैनन्। त्यो सम्मान बोकेर बाँच्न धेरै गह्रौं अनुभव हुनथालेको बताउँछन् उनी आजकल। बिगतको गौरव र वर्तमानको अपमान बोकेर गुमनाम जीवन बिताइरहेका  मोहनचन्द्र अधिकारीको झुकेको शीर देखेर कम्युनिष्टहरुलाई कस्तो लाग्छ?