
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन मार्फत निर्वाचित भएका सांसदहरुले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउन लागेका हुन् ।
यसअघि हिजाे ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरिसकेकाे र आज ज्येष्ठ सदस्यले बाँकी २७४ जना सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरेका हुन् ।
आज चैत १२ गते दिउँसो २ बजे निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा शपथग्रहण हुनेछ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार विवरण समावेश गर्नुपर्ने भएकाले शपथग्रहण हुनुभन्दा दुई घण्टाअगावै नवनिर्वाचित सदस्यलाई सिंहदरबारमा पुग्न आग्रह गरिएको बताइएकाे छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ले सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै नवनिर्वाचित सदस्यमध्ये ५४ जनाले मातृभाषामा शपथ लिने सचिवालयलाई जनाएको छ ।
फागुन २१ गतेकाे प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यहरुको शपथपछि आगमी कार्यकाल सुरु हुनेछ ।


