
मध्यपूर्वमा देखिएकाे तनावसँगै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको अभाव हुन थालेपछि उपभोक्ता विद्युतीय चुलोतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय पश्चिम एशियाली राष्ट्रहरूमा युद्धका कारण विकसित घटनाक्रमका कारण ग्यासकाे अभाव देखिएपछि उपभोक्ता त्यसतर्फ आकर्षित हुन थालेका हुन् ।
जसका कारण चालु आर्थिक वर्ष २०८२ र ८३ को पहिलो आठ महिना (साउनदेखि फागुन मसान्तसम्म) मा नेपालमा विभिन्न प्रकारका १ लाख ४७ हजार ८ सय ६४ वटा विद्युतीय चुलो आयात भएकाे बताइएकाे छ । जसमध्य सबैभन्दा बढी माग इन्डक्सन चुलोमा देखिएको भन्सार विभागले जनाएकाे छ ।
विभागकाे तथ्यांक अनुसार आठ महिनाकाे अवधिमा १ लाख ४ हजार ७ सय १७ वटा इन्डक्सन चुलो नेपाल भित्रिएको छ भने इन्फ्रारेड चुलोको आयात पनि उल्लेख्य रहेको बताइएकाे छ । त्यस्तै ४२ हजार २ सय १८ वटा चुलो आयात गरिएको छ भने इन्डक्सन र इन्फ्रारेडबाहेक अन्य प्रकारका विद्युतीय चुलो भने जम्मा ९ सय २९ वटा मात्र आयात भएकाे छ ।
आर्थिक दृष्टिले हेर्दा यस्ता चुलो आयातका लागि ठूलो रकम विदेशिएको देखिन्छ । आठ महिनाको अवधिमा आयात भएका चुलोको कुल मूल्य ३० करोड ४१ लाख १२ हजार रुपैयाँ पुगेको छ । जसमध्ये इन्डक्सन चुलोको मात्र मूल्य २२ करोड २७ लाख ४ हजार रुपैयाँ रहेको छ । त्यसैगरि इन्फ्रारेड चुलोको मूल्य ७ करोड ६७ लाख ७ हजार रुपैयाँ रहेकाे छ ।
यसअघि पनि विद्युतीय चुलोको बिक्री भई रहने भएता पनि पछिल्लाे समय मध्यपूर्वमा देखिएकाे असहज परिस्थितिका कारण अहिले यसको बिक्री ५० देखि ७० प्रतिशत बढेको पाइन्छ ।


