
हिजाे दिउँसाे देखि देशभर परेकाे वर्षासँगै काभ्रेको रोशी गाउपालिका अन्तर्गत रोशी खोलाको पानी सडकमा पस्दा वीपी राजमार्ग अवरुद्ध भएको छ । उक्त राजमार्गमा बिहान साढे ३ बजे तिरको समयमा सडकमा पानी पसेपछि वीपी राजमार्गमा अवरुद्ध भएकाे हाे ।
वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउपालिका खण्डका केहि स्थानमा रोशी खोला पसेको कारण सडक अवरुद्ध भएकाे बताइएकाे छ । निरन्तर वर्षाका कारण रोशी खोलाको बहाव बढ्दै सडकसम्म पुगेको प्रहरीले जनाएको छ ।
सडकमा पानी पसेपछि अहिले प्रहरी र सम्बन्धित निकायहरूबीच समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको छ । यता जिल्ला ट्राफिक कार्यालय काभ्रेले यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।
त्यसैगरि ललितपुरको बागमती गाउँपालिका–३, कार्किबास क्षेत्रमा हिजाे दिउँसाे परेको वर्षाका कारण कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको छ । उक्त लाेकपथमा वर्षासँगै ढुंगा खसेका कारण भट्टेडाँडा हुँदै मकवानपुर जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएकाे छ ।
सडक अवरुद्ध भएपछि प्रहरीले उक्त सडकबाट यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।


