
आज इस्लाम धर्मावलम्वीहरू महान पर्व इद उल फित्र हर्षोल्लासका साथ मनाउँदै छन् । एक महिनासम्म रोजा (उपवास) बसेर चन्द्रमा देखिएसँगै यो पर्व मनाउने परम्परा अनुसार आज देशभरका इस्लाम धर्मावलम्वीहरूले हर्षोल्लासका साथ याे पर्व मनाउन लागेका हुन् ।
आज बिहानैदेखि काठमाडौंको घण्टाघरस्थित जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशभरका विभिन्न मस्जिद र इदगाहहरूमा इस्लाम धर्मावलम्वीहरूको ठूलो भिड लागेकाे छ भने मस्जिदहरूमा सामूहिक रूपमा नमाज पढ्दै एक आपसमा खशी साटासाट गरेका छन् ।
यस पर्वकाे अवसरमा आज बिहानै नुहाइधुवाइ गरी नयाँ लुगा लगाएर मस्जिद जाने र सामूहिक प्रार्थना गरेपछि एक–अर्कालाई अँगालो हालेर ‘इद मुवारक’ भन्दै शुभकामना आदानप्रदान गर्ने गरिन्छ । त्यस्तै गरिब तथा असहायलाई दान (जकात र फित्रा) दिएर समाजमा समानताको सन्देश दिइन्छ भने घरघरमा सेवई, खजुर लगायतका विशेष परिकारहरू बनाएर आफन्त र साथीभाइलाई खुवाउने चलन छ ।
इद उल फित्र पर्वले मुस्लिम समुदाय मात्र नभई सम्पूर्ण नेपाली समाजमा आपसी सद्भाव र एकतालाई अझ मजबुत बनाउने विश्वास समेत गरिएको छ ।


