
अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ
सुनसरी, ६ चैत । धरान उपमहानगरपालिका ८ बस्ने ४० वर्षीय सुरज खड्कालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ४० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
काठमाडौं, ६ चैत । काठमाडौं महानगरपालिका १४ कलंकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम र नगद २३ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने काभ्रे घर भएका ३० वर्षीय रामचन्द्र गौतमलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका १ बिशाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका(१ बस्ने २६ वर्षीय रमन सिंघ राठोर र ३० वर्षीय सरोज सिंह चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका १० सडकघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १४ ग्राम ७ सय २० मिलिग्राम सहित डडेलधुरा अमरगढी नगरपालिका १ बस्ने २५ वर्षीय यादव तमौली समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से।७ प २०९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका १० सडकघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १५ ग्राम १ सय ६० मिलिग्राम सहित ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका(३ मालाखेती बस्ने २७ वर्षीय सुरेन्द्र साउद, कञ्चनपुर शुक्लाफाँटा नागरपालिका ११ कलुवापुर बस्ने २६ वर्षीय हिक्मत बोहरा, कृष्णपुर नगरपालिका(५ गुलरिया बस्ने २४ वर्षीय दिपेन्द्र बिष्ट र दार्चुला शैल्यशिखर नगरपालिका(६ उल्लानी बस्ने २८ वर्षीय जनक सिंह धामी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०२.००१ ज ६३० नम्बरको हाईसलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक सुरेन्द्र, सहचालक हिक्मत तथा हाईसमा सवार दिपेन्द्र र जनकलाई पक्राउ गरेको हो ।
रौतहट, फतुवाविजयपुर नगरपालिका ५ सन्तपुर टोल बस्ने ५० वर्षीय तेजिलाल यादव र उनकै छोरा २२ वर्षीय लालबाबु यादवलाई अवैध लागूऔषध गाँजा १ किलो ९ सय २० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट खटिएको प्रहरीले तेजिलालले सोही ठाउँस्थित संचालन गरेको किराना पसल तलासी गर्दा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका ७ रूपाचुरीबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ३ किलो ४ सय ७८ ग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय देबचन्द्र घलानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १२ एम्पुल, प्रोमेथाजाइन १६ एम्पुल र बुप्रेनोर्फिन २४ एम्पुल सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धार्थनगर नगरपालिका २ नौउडिहवा बस्ने २६ वर्षीय अनिष आले, सोही नगरपालिका ९ अञ्चलपुर बस्ने ३२ वर्षीय अविनास गुरूङ र कन्चन गाउँपालिका ३ हरैया बस्ने २२ वर्षीय सुजन सारू रहेका छन् । इलाका प्रहरी कार्यालय बेलहिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
ठगीमा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ
काठमाडौं, ६ चैत । ठगीमा संलग्न रहेको अभियोगमा ७ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका २ गठ्ठाघर बस्ने सप्तरी कञ्चनरूप नगरपालिका(१२ घर भएका २६ वर्षीय बिबेक रेग्मी, ललितपुर महालक्ष्मी नगरपालिका(२ बालकुमारी बस्ने भारत तेलंगाना हैदरावाद बोरण्डा थाना घर भएका ३९ वर्षीय हुसेन सैयद, ४४ वर्षीय साजिद ओमर सैयद, भारत तेलंगाना हैदरावाद चारमिनार थाना घर भएका ३४ वर्षीय महम्मद ईमरान, ३३ वर्षीय मिर खालिद हुसेन, ४० वर्षीय रजाक महम्मद र भारत तेलंगाना हैदरावाद कुकडपल्ली थाना घर भएका ४२ वर्षीय समादा गिरी रहेका छन् ।
काठमाडौं महानगरपालिका १० थापागाउँ लाखेचौर मार्गस्थित सिर्तेल होलिडेज प्रा।लि नामको ट्राभल एजेन्सीबाट सर्वसाधारण व्यक्तिहरुलाई युरोप, एसिया, अफ्रिका लगायत १ सय ७५ देशहरूमा भ्रमणमा जानको लागि विभिन्न नम्बरबाट फोन गरी ट्राभल लोटरी परेको छ भनि झुक्यानमा पारी अत्यन्त सस्तो दरमा भ्रमण गराउने भनि विश्वास दिलाई पीडितहरूबाट रकम लिई भ्रमण नगराई रकम समेत फिर्ता नगरी ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई सोही कार्यालयबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले हालसम्म ३ सय २८ जना पीडितहरूबाट २ करोड ७२ लाख ६५ हजार ५ सय ७४ रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।
साथै प्रहरीले उनीहरूको साथबाट नेपाली नगद ७ लाख रूपैयाँ, कम्प्युटर १ थान, ल्यापटप १ थान, ट्याब १ थान, विभिन्न छाप ५ थान, रिसिप्ट प्याड ३ थान, विभिन्न व्यक्तिहरूको नाम, वतन, मोबाइल नम्बर समेतकोको विवरण उल्लेखित कुपनको अर्धकट्टी ५ हजार ७५ थान लगायतका सरसामान बरामद गरेको छ ।
ग्रीस र स्पेन पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं, ६ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस र स्पेन पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका ३ बस्ने काभ्रे रोशी गाउँपालिका ६ घर भएका ३८ वर्षीय रकम बहादुर लोप्चन तामाङ र काठमाडौं महानगरपालिका ३१ बस्ने सिराहा मिर्चैया नगरपालिका ३ घर भएका २२ वर्षीय लक्ष्मण कुमार यादव रहेका छन् ।
पक्राउ मध्ये रकम बहादुरले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ र लक्ष्मण कुमारले स्पेन पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट १३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रकम बहादुरलाई काठमाडौं महानगरपालिका(१३ बाट र लक्ष्मण कुमारलाई काठमाडौं महानगरपालिका ३१ बाट पक्राउ गरेको हो ।
अनलाइन मार्फत ठगी गर्ने पक्राउ
काठमाडौं, ६ चैत । अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा स्याङ्जा बिरूवा गाउँपालिका २ घर भएका ३४ वर्षीय भेषराज वाग्लेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल टिकटक मार्फत ह्वाट्सएप नम्बर मागी सम्पर्क गरी आफू अमेरीकन आर्मीमा कार्यरत रहेको भनी विभिन्न बहाना बनाई प्रलोभनमा पारी हाल विदामा नेपालमा जग्गाको कर तिर्न आएको लगायतको झुठ्ठा आश्वासन दिलाई रकम माग गरी ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका(७ थानकोटबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
अनलाइन मार्फत सट्टाबाजी गराउने कार्यम संलग्न व्यक्ति पक्राउ
काठमाडौं, ६ चैत । अनलाइन मार्फत सट्टाबाजी गराउने कार्यमा संलग्न रहेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका बस्ने मोरङ उर्लाबारी नगरपालिका ६ हाटखोला घर भएका २६ वर्षीय मोहन लुईटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सोसल मिडिया एण्ड अनलाइन पेमेन्ट प्ल्याटफर्म मार्फत अनलाइन जुवा खेलाइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई कागेश्वरी मनोहरा नगरपालिका ८ शिवचोकबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा मोहनले अनलाइन मार्फत गेम रूम, गेम भल्ट, जुवा, लास भेगस लगायतका बेटिङ साइट मार्फत डिजिटल वालेट खोल्न लगाई विदेशी भुक्तानी संकलन गरी अनलाइन बेटिङ खेलाउने गरेको खुल्न आएको छ ।
साथै प्रहरीले उनको साथबाट मनिटर ३ थान, सिपियु १ थान, आइप्याड १ थान, बागमती प्रदेश ०२.०६० प ०६५६ नम्बरको मोटरसाइकल र नगद ३६ हजार रूपैयाँ समेत बरामद गरेको छ ।
बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित तीन जना पक्राउ
काठमाडौं, ६ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २८ हजार ९ सय सहित ३ जना बुधबार दिउँसो पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका १ घर भएकी ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ६ घर भएकी ३८ वर्षीया संगिता लामा र सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका ७ घर भएका ४७ वर्षीय बिनोद लामा रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले चाइना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीन जान लागेका उनीहरूलाई जाँच गर्ने क्रममा अनिताको साथबाट १० हजार, संगिताको साथबाट १० हजार र बिनोदको साथबाट ८ हजार ९ सय अमेरिकी डलर फेला परेको हो ।


