Advertisement Banner
Advertisement Banner

०५ बिहिबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

सभापति थापाले दिए राजीनामा

०५ बिहिबार , चैत्र २०८२३ घण्टा अगाडि

सभापति थापाले दिए राजीनामा

नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले पदबाट राजीनामा दिएका हुन् ।

सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएकाे बताइए पनि पार्टीले यसलाई हालसम्म औपचारिक रूपमा सार्वजनिक भने गरेको छैन । चैत ६ गते बस्ने गरी पार्टीकाे बैठक आह्वान गरिएको र केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाको राजीनामाबारे विस्तृत छलफल हुने बताइएको छ ।

पार्टीले सभापति थापाकाे राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने अन्तिम निर्णय लिने अधिकार केन्द्रीय कार्यसमितिलाई नै रहेकाले भाेलिकाे बैठकले निचाेड निकाल्ने छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा ‘अबकि बार, सय पार’ को महत्त्वाकाङ्क्षी नारासहित चुनावी मैदानमा उत्रिएको कांग्रेस यसपटक प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिटमा खुम्चिएको थियाे ।

केही समयअघि सम्पन्न विशेष महाधिवेशनमार्फत देउवा समूहको असहमति र सर्वोच्चमा विचाराधीन मुद्दाका बीच नेतृत्व सम्हालेका थापाले विशेष महाधिवेशनले पार्टीमा रूपान्तरणको आशा जगाए पनि निर्वाचन परिणामले त्यसलाई जनस्तरसम्म पुर्‍याउन नसकेको विश्लेषण गरिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति थापा सर्लाही-४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहसँग फराकिलो मतान्तरले पराजित भएपछि पार्टीभित्र र बाहिर उनको नेतृत्वमाथि प्रश्न उठेको थियो ।