
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेकाे छ । देशभरका यातायात व्यवसायीको छाता संस्था महासंघले मूल्यवृद्धिसँगै भाडा समायोजन गर्न माग गरेको हो ।
महासंघका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले गएराति पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । पेट्रोलियम पदार्थको प्रत्यक्ष उपभोग गर्ने आम यातायात व्यवसायी र उपभोक्ता वर्गको हितलाई मध्यनजर नगरी भारी मूल्यवृद्धि गर्दा यातायात व्यवसायी एवम् यात्रुमा प्रत्यक्ष असर पर्न गएका बताए ।
नेपाल आयल निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम पदार्थको खपतलाई नियन्त्रण गरी वैज्ञानिक विधि अपनाई पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउन समेत नेपाल सरकारसमक्ष महासंघ ले माग गरेको छ ।
यता नियमले गएरातिदेखि डिजेलमा रु १० र पेट्रोलमा रु १५ वृद्धि गरेको थियो ।


