संयुक्त विज्ञप्तिको बुँदा १० मा नेपालका प्रधानमन्त्रीले नेपालमा भइरहेको विकासक्रम र संविधानको कार्यान्वयनका लागि प्रयास भइरहेको बारे समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी गराएको उल्लेख छ। यो जाहेरी हो। मोदीले यही पक्षको स्वागत गर्दै नेपाली समाजका सबैपक्षलाई सहभागी गराएर संविधानको प्रभावकारी कार्यान्वयन भएको हेर्न चाहेको बताए। सबैपक्ष भनेको हिन्दूत्व र मधेसी मोर्चाका मुद्दालाई संविधानमा संवोधन गर भन्ने नै हो। लोकतन्त्र आए पनि हामी बहादुरबाट माथि उठ्न सकेनौं। हाम्रा 'बहादुर' प्रधानमन्त्रीले हस् साप भनेर आएका छन्।
१९६९ मा राष्ट्रसंघको सुरक्षा परीषदमा चुनाव लड्दा नेपालले जित्यो, जापान हार्यो। चीन त सदस्य नै थिएन। १९८८ मा भएको निर्वाचनमा सिंगो एसियाले नेपालको साथ दियो। राजा महेन्द्र अमेरिका जाने निधो भयो, अमेरिकी राष्ट्रपति थिए आइजनहावर। यो २०१६ सालको कुरा हो। हल्ला चल्यो– नेपालका राजालाई स्वागत गर्न अमेरिकी राष्ट्रपति एयरपोर्ट नआउने रे। प्रधानमन्त्री वीपी कोइरालाले अमेरिकी राजदूत फिक्सलाई बोलाएर हप्काए– हाम्रो राजालाई स्वागत नगर्ने भए किन निम्तो दिएको? राजदूतले राष्ट्रपति मुटुको रोगी भएको र चिसोमा बाहिर निस्किन नहुने प्रष्टिकरण दिए। राजा अमेरिका गए, मुटुरोगी अमेरिकी राष्ट्रपति आइजनहावर हेलिकोप्टरमा एयरपोर्ट गएर राजाको स्वागत गरे। हिजोका दिनमा राष्ट्रसंघको महासभामा नेपालले के बोल्छ भनेर विश्वले कान ठाडो पार्थ्यो। सुन्थ्यो। त्यो थियो नेपालको हैसियत।
आज नेपाल कहाँ छ? नेपालको हैसियत धेरै तल झर्यो। यसपटक प्रधानमन्त्री प्रचण्डले अकस्मात राष्ट्रसंघमा सहभागी हुनजाने तय कार्यक्रम रद्द गरेको खबर आयो। उनी जानु भनेको सयर गर्न हो, आफन्तजनलाई सपिङ गराउन न हो, नेपालको आवाज कसले सुन्छ र आजकल?
यिनै प्रधानमन्त्री भदौ ३० गते दिल्ली गएर असोज २ गते फर्किएका छन्। यिनले अन्तर्राष्ट्रिय मामिलाहरुमा भारतको पछि लाग्ने सहमति गरेर आएका छन्। नेपाललाई भारतको छातामुनी राख्न मञ्जुर गरेर आउनुले नेपालको शीर झुक्यो, कलंकित भए प्रचण्ड भन्ने एमालेको ठहर सार्वजनिक भइसकेको छ।
यिनै प्रधानमन्त्रीले नेपालको संविधान संशोधन गर्न विदेशदूत मार्फत भारतलाई गुहारे। संयुक्त विज्ञप्तिमा समेत संविधान संशोधनको विषय राख्न मञ्जुर गरे। नेपालको आन्तरिक मामिला संविधान संशोधन अव अन्तर्राष्ट्रियकरण हुनपुगेको छ।
यो विषय, निर्णय मोहन वैद्यलाई समेत पचेन, उनले प्रचण्डमाथि राष्ट्रघातीको आरोप लगाए। विप्लवले त एयरपोर्टमै जुलुस नारा लगाएर कालोझण्डा देखाइदिए। मधेसी मोर्चाले संविधान दिवसलाई कालो दिवसका रुपमा बिरोध गर्यो।
प्रचण्ड दिल्ली गए, उनले धर्मनिरपेक्षताको बारेमा कुनै कुरा गर्न सकेनन्। मधेसी मोर्चा, संविधान संशोधन, सीमा र सन्धिलगायतका कुनै पनि मुद्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसामु उठान नै गर्न सकेनन्। मोदी राष्ट्रिय पोसाकमा उभिदा, हाम्रा प्रधानमन्त्री टाई टोपीमा थिए, प्रधानमन्त्रीका टिमले कूटनीतिक मर्यादा उल्लंघन गरे, मानौं सबै मासुभात खान मामाघर गएका हुन्। दुई मुलुकवीच कसरी स्वाधीनताका कुरा हुनुपर्छ, व्यक्तित्व देखिनुपर्छ, केही पनि देखिएन। समस्याको उठान बैठान हुनुपर्छ, त्यो पनि देखिएन। प्रचण्डको कुम हल्लियो, कुमसँगै नेपालको व्यक्तित्व झन कमजोर रुपमा हल्लिनपुग्यो।
तैपनि प्रचण्ड फर्किएर कुर्लिए– भ्रमण असाध्यै सफल भयो, सौहार्द्रता बढ्यो। कार्यकालको महिना दिनमै भारत दगुर्नुपर्ने औचित्य के थियो, प्रचण्डले पुष्टि गर्न सकेनन्। प्रचण्ड गए, मोदीको कूटनीतिक मञ्चमा राजनीतिक निर्देशन सुनेर, हस् साव भनेर फर्किएका छन्।
अव संविधानको संशोधन प्रक्रिया सुरु हुनेछ। एमाले विरोधमा उभिदा संशोधन हुन सक्नेछैन। नेपालको राजनीति अझ अस्थिर, अराजक र हिंसात्मक हुँदै जानेछ। मधेसी मोर्चाले आन्दोलन गर्छ, विप्लवले आन्दोलन घोषणा गरिसके। संघीयताले सिध्याउने भयो शान्ति र समृद्धि। यसैवीच हिन्दू सम्मेलन हुँदैछ, पूर्वराजा यही सम्मेलनबाट हिन्दूत्व बचाउने नेतृत्व लिन सक्नेछन्। हिन्दूत्व सबैभन्दा कडा आन्दोलन भएर निस्कने अनुमान गरिदैछ। मधेसी मोर्चाको एक वा दुई मधेस प्रदेश, अंगीकृत नागरिकता हटाउने आन्दोलन फेरि भड्किने छ।
अन्तमा प्रचण्ड केही दिन मुख मिठ्याएर लाजिम्पाट फर्कनेछन्, स्वाद फेर्न देउवा आउनेछन्।