Advertisement Banner
Advertisement Banner

३० मंगलबार, असार २०८३13th July 2026, 9:36:25 am

मधेशी एकता समाजले अमेरिकामा होली उत्सव मनायो

१९ मंगलबार , फाल्गुण २०८२४ महिना अगाडि

मधेशी एकता समाजले अमेरिकामा होली उत्सव मनायो

काठमाडौं, फागुन १७ गते । मधेशी एकता समाज अमेरिकाको आयोजनामा टेक्सास राज्यको इरभिङमा फागुन १६ गते शनिबार भव्य रूपमा होली विशेष कार्यक्रम सम्पन्न भएको छ ।
समाजको टेक्सास च्याप्टरद्वारा आयोजित ‘होली धमाका’ कार्यक्रममा समुदायका एक सयभन्दा बढी सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो । विविध सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रममा सहभागीहरूले रंग अबिर खेल्दै आपसी सद्भाव र भाइचाराको सन्देश प्रवाह गरेका थिए ।
कार्यक्रमको अध्यक्षता टेक्सास च्याप्टरका अध्यक्ष सुरेन्द्र रामले गर्नुभएको थियो । उहाँले उपस्थित सम्पूर्णलाई होलीको शुभकामना व्यक्त गर्दै प्रवासमा रहेर पनि नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो ।
कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष सञ्जय ज्यामिरेको विशेष उपस्थिति रहेको थियो । त्यसैगरी विशेष अतिथिका रूपमा नेपाली महावाणिज्य दूतावास डल्लासका प्रवक्ता प्रवीण भण्डारी, युलेस सिटीका उप–मेयर टीका पौडेल, नेपालिज सोसाइटी अफ टेक्सासका अध्यक्ष विजय भुसाल, इन्द्रेणी समाजका अध्यक्ष नेत्र पाण्डे, समाजका अन्तर्राष्ट्रिय उपाध्यक्ष शशी यादव तथा सामाजिक अभियन्ता अमरनाथ साहलगायत विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
वक्ताहरूले होली पर्वले आपसी सम्बन्ध सुदृढ बनाउने, विविधतामा एकता कायम गर्ने तथा सांस्कृतिक पहिचान जोगाइराख्ने सन्देश दिने उल्लेख गर्दै प्रवासमा रहेका नेपाली समुदायबीच सहकार्य र सद्भाव अझ सुदृढ बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
होली विशेष कार्यक्रम सफल बनाउन सहयोग र्पुयाउने सम्पूर्ण अतिथि, सहभागी तथा स्वयंसेवकहरूप्रति आयोजक संस्थाले धन्यवाद ज्ञापन गरेको छ ।