
अमेरिका र इजरायलले इरानमाथि युद्ध छेडेपछि खाडीमा रोजगारीमा गएका नेपाली युवाहरूको बिचल्ली सुरू भएको छ । उनीहरूको स्थिति, स्वास्थ्य, उद्धारमा नेपाल सरकारले चासो नराखेको आरोप लागेको छ । यो युद्ध बिस्तार हुँदै तेस्रो विश्वयुद्धतिर उन्मुख छ, नेपाली श्रमिकहरू त्रासदीमा रहेको खबर छ ।
युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब, कुवेत लगायत देशमा झण्डै २० लाख नेपाली कोही खाडी मुलुकमै समस्यामा छन्, कोही विमानस्थलमा असरल्ल परेका छन् । नेपालको पूर्व तैयारी केही छैन, यकिन तथ्याङ्क पनि छैन । इरानले पनि प्रत्याक्रमण तीब्र पारेपछि खतरा झन बढेर गएको छ । युद्ध थप चर्किदै जाँदा उनीहरूको चिन्ता बढ्दै गएको छ ।
खाडी मुलुकमा रहेकाहरू भन्छन्– डर लागिरहेछ । निरन्तर इमरजेन्सी साइरन बजिरहेको छ, सतर्क भए पनि ज्यानजाने तनावमा रहेका छौं । सरकार र दूतावासले एडभाइजरी जारी गरेका छन् । उच्च सुरक्षा सतर्कता अपनाउन भनेका छन्, कतिपय बाटोमै परेकालाई उद्धारको कुनै प्रवन्ध गरिएको छैन । काम रोकिएको छ, आम्दानी, खाद्यान्न, औषधोपचारमा समस्या छ । रेमिटान्सको स्रोत बैदेशिक रोजगारीबारेमा सरकारले विशेष ध्यान दिन जरूरी देखिएको छ ।


