
फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सिन्धुली जिल्लाभर मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आज एक सूचना जारी गर्दै निर्वाचन अवधिभर मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको हो ।
प्रशासनले सार्वजनिक शान्ति र सुरक्षा कायम राख्न यस्तो निर्णय गरेको बताइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनामा मतदान हुने दिनभन्दा ७ दिन अगाडि अर्थात् फागुन १४ गतेदेखि निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नभएसम्मका लागि मदिरा निषेध गरिएको हो ।
कसैले स्थानीय प्रशासनको निर्देशन उल्लंघन गरेमा होटल व्यवसायी तथा सेवन गर्नेहरूलाई प्रचलित कानुन अनुसार कडा कारबाही गर्ने चेतावनी समे दिइएको छ । निर्वाचनलाई सभ्य र सुव्यवस्थित बनाउन प्रशासनले जिल्लास्थित राजनीतिक दल, होटल व्यवसायी, नागरिक समाज र आम सर्वसाधारणसँग पूर्ण सहयोगको अपेक्षा गरेको छ ।


