
आज बिहान संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
उक्त भूकम्पको केन्द्रविन्दु संखुवासभा जिल्लाको टोप्के गोला र त्यसको आसपासको क्षेत्रमा रहेको केन्द्रले जनाएकाे छ । भूकम्पको धक्का संखुवासभाका साथै छिमेकी जिल्ला ताप्लेजुङका अधिकांश बस्तीहरूमा महसुस गरिएको थियो ।
बिहानीपख मस्त निद्रामा रहेका स्थानीय बासिन्दाहरू एक्कासि भूकम्प गएपछि अत्तालिँदै सुरक्षित स्थानको खोजीमा घरबाहिर निस्किएका थिए भने चिसो र निद्राको समयमा आएको भूकम्पले केही बेर जनजीवनलाई त्रसित बनाएको थियो ।
यसअघि फागुन १० गते पनि संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान साढे ७ बजे ४.१ म्याग्नीच्युटको भूकम्प गएको थियाे ।


