प्रचण्डले पटक पटक जनहित र सार्वभौमिकता विरुद्ध कुनै सम्झौता गर्दिन भनेर भनिरहदा पनि एमालेले विश्वास गर्न सकेन। इतिहासमै पहिलोपल्ट एमाले र माओवादीवीच यति ठूलो विश्वासको संकट परेको हो। प्रचण्डले भारत गएर देशै बिक्री गरेर आउँछन् भन्ने झ्याली पिटेको छ एमाले र एमाले नेताहरुले। भदौ २६ गते एमालेका अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल र नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसमेत प्रधानमन्त्रीलाई भेट्न गए। भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई 'ध्यानाकर्षण' पत्र उनको हातैमा बुझाए। एमालेको यो ६ बुँदे लेटरवममा लेखिएको छ– 'देशको हित अगाड सार्नु, जनता र राष्ट्रिय हित विपरित कुनै सम्झौता नगर्नु, सावधान, स्वाधीनता नगुमोस्।'
ध्यानाकर्षण पत्रमा लेखिएको छ– सन १९५० को सन्धि, सम्झौता र त्यस सम्बन्धमा भएका अन्य पत्राचारहरुको पुनरावलोकन र अद्यावधिक गर्ने तथा दशगजा क्षेत्रमा अर्न्तराष्ट्रिय कानुन विपरित बनाइएका संरचना हटाइनुपर्ने र नेपालका आन्तरिक मामिलामा अनावश्यक चासो बढाउने काम नगर्ने विषयमा स्पष्ट विचार राख्न जरुरी छ। प्रमुख दलहरुसँग छलफल गरिएन, त्यसैले यो ध्यानाकर्षण पत्र दिइएको हो। यद्यपि प्रधानमन्त्रीले पूर्वराजदूत, कूटनीतिज्ञहरुसँग भने सल्लाह सुझाव लिने काम गरेका थिए।
भारतले रक्सौल अमलेखगञ्ज पेट्रोल पाइपलाइन निर्माण गर्न सहयोग गर्ने तर १५ वर्षसम्म भारतबाट मात्र इन्धन आयात गर्नुपर्ने सर्त राखिसकेको छ। यो बाहेक फास्ट ट्य्राक र निजगढ एयरपोर्टको निर्माण भारतीय कम्पनीले गर्न पाउनुपर्ने दबाब पनि दिइरहेको छ। यस सम्बन्धमा पनि एमालेले प्रधानमन्त्रीलाई राष्ट्रिय हितमा नडगमगाउन भनेको छ। आश्चर्य चाहिं के छ भने सर्वदलीय त भएन भएन, मुख्य ठूला दलहरुसँग छलफल गरेर त्यो राजनीतिक ताकतका साथ भारत भ्रमणमा जान प्रधानमन्त्रीलाई कुन तगारोले रोक्यो भन्ने विषय प्रश्नचिन्हमा छ। प्रधानमन्त्रीको भारत भ्रमणका सम्बन्धमा कांग्रेस सभापति मौन छन् तर कांग्रेसी मन्त्रीद्वय विमलेन्द्र निधि विशेष दूत बनेर भारत गएका थिए भने परराष्ट्रमन्त्री भ्रमण सफल पार्न भारत गइसकेका छन्, आज फर्कने उनको कार्यतालिका छ। यसको अर्थ कांग्रेस पनि भारतलाई खुश पार्ने र भ्रमण सफल पार्नेमै लागेको देखिन्छ।
हुनसक्छ एमालेले आगामी निर्वाचनलाई मध्यनजर राखेर प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण राष्ट्रघाती कदमकै रुपमा व्यापक प्रचार गरेको होस्। किनभने एमालेले कांग्रेस, माओवादीलाई आफ्नो पार्टी दुश्मन ठानेको छ र आगामी चुनावमा सिंगल लार्जेष्ट पार्टी बनेर बहुमतको स्थायी सरकार हाँक्ने सुरमा छ। यहीकारण एमाले जतिसक्यो, उति माओवादी र कांग्रेसलाई बदनाम गर्न, देश विरोधी तत्वका रुपमा जनताको मनमा छाप पार्ने रणनीतिमा छ।
एमालेको यो नीतिले कति काम गर्छ भन्न सकिन्न तर नेपालको इतिहासमा अहिलेसम्म यसरी कुनै पनि प्रधानमन्त्रीलाई खबरदारको फाँसीमा रुपमा ध्यानाकर्षणका लगाम कस्ने काम भएको थिएन। तैपनि प्रधानमन्त्रीले चीनका राष्ट्रपतिको नेपाल भ्रमणलाई समेत दाउमा राखेर भारत भ्रमणमा जाने रिस्क लिए र उनले स्वयं भनेका छन्– मैले ठूला ठुला रिस्क लिएको छु, मलाई रिस्क लिन दिनोस्। प्रचण्डले लिएको रिस्कले देशको लाभ गर्छ कि माओवादी केन्द्रको हानी। यसको बाछिटाले कांग्रेसको कति अहित हुन्छ अहिले नै भन्न सकिन्न। राजनीतिक विश्लेषकहरु भन्छन्– प्रचण्डको यो भ्रमण नितान्त चाकरीको शैलीमा हुनेछ, आपत्ति गरिएजस्तो कुनै पनि राष्ट्रघाती सन्धि हुनेछैन। सम्बन्ध सुधार गरेर आएँ भन्ने क्रेडिट लिन प्रचण्डलाई सजिलो हुनेछ। एमालेले जुन तरिकाले फन्दा तैयार गरेको छ, त्यो मिसफायरमात्र हुनेछ। केपी ओलीले आफूलाई शेर सम्झेका छन्, प्रचण्ड सवाशेर बनेर देखाइदिनेछन्।