
सिरहामा डकैती घटनामा संलग्न रहेको आरोपमा एक भारतीयसहित चार जना पक्राउ परेका छन् । सिरहाकाे कल्याणपुर नगरपालिका–१२, बेल्हाकट्टीमा तीन महिनाअघि डकैती घटनामा संलग्न रहेको आरोपमा उनिहरुलाई पक्राउ गरिएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय सिरहाले एक पत्रकार सम्मेलन गरी ती आरोपीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूबाट दुई थान कटुवा पेस्तोल, चार राउण्ड गोली, करिब ३० ग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषध र मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि डाँका, ज्यान मार्ने उद्योग, हातहतियार तथा लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जनकारी दिएका छन् । गत मंसिर ३ गते हतियारधारी समूहले स्थानीय भोला महतोको घरमा प्रवेश गरी करिब ६ लाख रुपैयाँ बराबरको सुनचाँदी, मोबाइल र ड्रोन क्यामेरा लुटपाट गरेका थिए ।
उक्त घटनाका क्रममा गोली चल्दा दुई जना गम्भीर घाइते भएका थिए भने प्रहरीले घटनामा प्रयोग भएको अटोरिक्सा नियन्त्रणमा लिएको थियाे । उक्त घटनाका दाेषी मध्ये चार जना पक्राउ परेपनि अन्य फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


