
रौतहट जिल्लाकाे गौर नगरपालिकाका विभिन्न क्षेत्रमा जारी कर्फ्यू आदेश केही खुकुलाे बनाइएकाे छ । गौर नगरपालिकाकाे वडा नम्बर-६, स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेकाे हाे ।
गौर नगरपालिकाकाे विभिन्न क्षेत्रमा लगाइएकाे कर्फ्यू आदेश आज पनि जारी रहेकाे भएता पनि प्रशासनले बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म दुई घण्टाका लागि केही खुकुलो पारिएको थियाे ।
सर्वसाधारणकाे लागि बिहान दुई घण्टा केही खुकुलो पारिएको कर्फ्यू आदेश पुनः कडा परिएकाे छ । हिजाे शनिबार दिउँसो १ बजेदेखि जारी भएको कर्फ्यु अर्को आदेश नआउँदासम्म निरन्तर रहनेछ बताइएकाे छ ।
गौर नगरपालिकाको पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालवकैया बाँध, उत्तरतर्फ बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालयसम्म कर्फ्यु आदेश जारी गरिएको छ । प्रशासनले खुकुलो पारिएको समयमा कुनै पनि किसिमका भेला, सभा, जुलुस, प्रदर्शन वा मानिसहरू जम्मा हुन नपाइने र बिहान साढे ८ बजेपछि अर्को आदेश नभएसम्मका लागि पुनः पूर्ण रूपमा कर्फ्यु लागू हुने प्रशासनले जनाएको छ ।


