
गएरातिदेखी रौतहटको सदरमुकाम गौर नगरपालिका-६, सबगढा गाउ तनावग्रस्त बनेको छ । विवाहको बाजा बजाएको विषयमा उत्पन्न विवादले उग्र रूप लिँदा उक्त गाउ तनावग्रस्त बनेको हो ।
रातिदेखि सुरु भएको दुई पक्षीय विवाद आज बिहान झडपमा परिणत भएपछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । हिजोराति हिन्दू समुदायको विवाहको जन्ती बाजागाजासहित निस्किएकोमा गाउँकै मस्जिदमा मुस्लिम समुदायको नवाज चलिरहेको र बाजाले अवरोध पुर्याएको भन्दै दुई पक्षबीच भनाभन सुरु भएको थियो ।
सामान्य विवादले उग्र रूप लिँदा मुस्लिम समुदायका केही व्यक्तिले डिजे समूहमाथि हातपात गरेपछि स्थिति तनावग्रस्त बनेको बताइएको छ । आज बिहानैदेखि दुवै पक्षबीच ढुङ्गा हानाहान सुरु भएपछि सबगढा गाउँ रणमैदान जस्तै बनेको र अवस्थालाई थप बिग्रिन नदिन प्रशासनले उक्त क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।
त्यहाँको स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी २५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जनाएका छन् । घटनास्थलमा नेपाल प्रहरीका एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारीसहितको टोली पुगेर सुरक्षा कमाण्ड सम्हालेका छन् ।
उक्त घटनाले सामाजिक सद्भाव खल्बलिन नदिन प्रशासानाले स्थिति नियन्त्रणमै लिएर दुईपक्षीय वार्तामार्फत समस्या समाधान गर्न पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी भुसालले जनाएका छन् ।


