
काठमाडौँ उपत्यकाकाे विभिन्न स्थानबाट चोरी भएका ५३ वटा सवारी साधन सम्बन्धित धनीलाई बुझाइएकाे छ । ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँबाट चोरी भएका ३१ मोटरसाइकल र २२ स्कुटर खोजी गरी सम्बन्धित सवारी धनीलाई बझाएकाे हाे ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले विभिन्न ठाउँबाट चोरी भएका मोटरसाइकल र स्कुटर खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको हाे । उक्त भेटिएका सवारीसाधन अधिकांश काठमाडौँ उपत्यका वरिपरिका जिल्लामा प्रयोग हुने गरेको बताइएकाे छ ।
त्यस्तै चोरी भएका मोटरसाइकल तथा स्कुटरकाे नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने तथा नक्कली कागजपत्र बनाएर बेचबिखन गर्ने गरेको प्रहरीले जनाएकाे छ । यता कार्यालयले आफ्नो सवारीसाधन हराएमा तत्कालै नेपाल प्रहरीको हटलाइन १०० वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा खबर गर्न आग्रह गरेको छ ।


