
नेपाल आयल निगमले भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु गरेकाे छ । निगमले हिजाे देखि इन्धन ‘रिफिलिङ’सेवा सुरु गरेको हो ।
भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले जनाएका छन् । हवाई इन्धनका कारण यात्रुलाई असुविधा नहोस् भनेर सेवा सुरु गरिएको पनि निर्देशक भट्टकाे भनाइ रहेकाे छ ।
अहिले उक्त विमानस्थलबाट दैनिक आठवटा उडान हुँदै आएको बताउँदै भट्टले आवश्यकताअनुसार हवाई इन्धन भर्न सक्नेगरी व्यवस्था मिलाइएको बताएका छन् । भरतपुरमा दुईवटा रिफिलिङ काउन्टर स्थापना गरिएको र त्यहाँबाट दैनिक २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जनाएका छन् ।
हाललाई लिमिटेडको सिनामङ्गल कार्यालयमा रहेका छ जना कर्मचारीमार्फत सेवा सुरु गरिएको छ भने त्यहाँबाट हाल दैनिक भरतपुर–काठमाडौँ–भरतपुर र आंशिक रूपमा भरतपुर–पोखरा– भरतपुर उडान हुँदै आएको छ ।
यता बुद्व एयरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले रिफिल काउन्टर स्थापना भएसँगै यात्रु तथा जहाजलाई सहज भएको बताए । बस्नेतका अनुसार अव जहाजले तेल बोकेर आउनुपर्ने समस्या नभएकाले काठमाडौँबाट आउने जहाजमा थप यात्रु ल्याउन सकिने समेत बताइएकाे छ ।


