
काठमाडौँका लागि टर्कीको इस्तानबुलबाट उडेको टर्किस एयरलाइन्स को विमान काठमाडौँमा अवतरणको क्रममा प्राविधिक समस्या देखिएपछि अवतरण नगरी बांङ्लादेशतर्फ मोडिएको छ । अवतरणको अन्तिम चरणमा प्राविधिक जटिलता देखिएपछि बांङ्लादेशतर्फ मोडिएको हाे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित नागरिक उड्डयन कार्यालयका अनुसार टीके-७२६ नम्बरको उडान काठमाडौँ अवतरण गर्ने क्रममा समस्या देखिएकाे थियाे । विमानले ‘ओभरसुट’ गर्दै वैकल्पिक गन्तव्य रोजेको हो । ए ३३० सिरिजको वाइडबडी विमान बिहान ११ बजेर १० मिनेटमा अवतरण गर्ने तालिका रहेकोमा १० बजेर ५६ मिनेट आसपास आइपुग्ने अनुमान गरिएको थियो ।
उक्त विमान अहिले बांङ्लादेशको ढाकामा सुरक्षित अवतरण गरेको जनाइएको छ । यसअघि पनि सोही एयरलाइन्सको जहाज माघ २१ गते काठमाडौँबाट उडेको केही मिनेटमै दायाँ इन्जिनमा समस्या देखिएपछि भारतको कोलकाता तर्फ मोडिएको थियो ।
त्यस्तै थाई एयरवेजको बैंकक-काठमाडौँ उडान भने मौसम प्रतिकुलका भएर विमानस्थल वरिपरि तीव्र हावा चलेपछि केही समय आकाशमै होल्ड गरिएको थियो । अहिले उक्त विमान सुरक्षित रूपमा काठमाडौँमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।


