
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइको काम सम्पन्न गरेको हो ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार हिजो साँझ मतपत्र छपाइको काम सम्पन्न गरिएको बताइएको छ । उनले छपाइ सम्पन्न भएको मतपत्र आजदेखि सबै प्याकिङ्ग सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने बताए ।
प्रत्यक्षतर्फ २ करोड ३ लाख मतपत्र छपाइकार्य सोमबार साँझबाट सम्पन्न गरिएको हो । ४२ दिनको कार्यतालिका लिएर छपाइ सुरु गरिएकामा ४० दिनमै सम्पन्न गर्न सफल भएको लिमिटेडले जनाएको छ भएन अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्याउने तयारी रहेको समेत बताइएको छ ।
यसअघि केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो । यसअघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पठाईसकेको छ भने २ करोड ८ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ ।
कर्णाली र सुदुरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पुग्ने गरी काम भइरहेको केन्द्रले जनाएको छ ।


