
भारतकाे मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले आईसीसी पुरूष टी–२० विश्वकपको अन्तिम खेल स्कटल्यान्डसँग खेल्दैछ । नेपाली समयअनुसार साझ सवा ७ बजे सुरू हुने खेलमा नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।
समूह सी बाट सुपर ८ मा पुग्ने दुई टोली इंग्ल्यान्ड र वेस्ट इन्डिज पहिले नै तय भइसकेकाले दुवै टोलीका लागि याे खेल औपचारिकतामात्र बन्ने छ भने दुवै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छन् ।
यसअघि नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो हार व्यहोरेको थियो भने दोस्रो खेल इटालीसँग र तेस्रो खेलमा वेस्ट इन्डिजसँग फराकिलाे हार व्यहाेरेकाे थियाे । यता स्कटल्यान्ड वेस्ट इन्डिजसँग पराजित भएपनि इटालीसँग जित निकालेकाे थियाे । तर, इंग्ल्यान्डसँग पाँच विकेटको हार व्यहोर्न पुग्याे र प्लेअफ सम्भावना समाप्त भयाे ।
टी–२० अन्तर्राष्ट्रियमा नेपाल र स्कटल्यान्डबीच अहिलेसम्म दुई खेल भएका छन्, जसमा दुवैले एकएक जित हात पारेका छन् ।


