
राैतहटबाट अवैध लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको गस्ती टोलीले रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएकाे हाे ।
गस्ती टोलीले हिजाे दिउँसो गोप्य सूचनाका आधारमा सुरु गरिएको खानतलासीका क्रममा सुरुमा चन्द्रपुर–१, बागमतीका ३२ वर्षीय तुलबहादुर लामालाई पक्राउ गरेका थियाे । पक्राउ परेका लामाकाे साथबाट ब्राउन सुगर सेवनमा प्रयोग हुने सामग्री बरामद भएपछि प्रहरीले अनुसन्धानलाई थप तीव्र बनाएको थियो ।
त्यसपछि चन्द्रपुर–४, गणेशचोकस्थित एक घरमा डेरा गरी बस्ने २३ वर्षीया प्रिया तामाङ र ३५ वर्षीय राज बलम पाख्रिन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएकाे छ । प्रहरीका अनुसार उनीहरूको कोठाबाट ब्राउन सुगर जोख्ने डिजिटल मेसिन र प्याक गर्न प्रयोग गरिने प्लास्टिकका टुक्राहरू बरामद गरिएको थियाे ।
पक्राउ परेकाहरूको प्रारम्भिक बयानका आधारमा प्रहरीले चन्द्रपुर–१, बाट २९ वर्षीय प्रशान्त तामाङलाई पनि समातेको छ भने उनको कोठाबाट २४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएकाे छ । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ रहेकाे छ ।


