
आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकाे आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुनुभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइने व्यवस्था अनुसार आज फागुन ४ गतेदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न पाउने भएका हुन् ।
आजदेखि निर्वाचन प्रचारप्रसारका लागि जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएकाे छ । साेहि व्यवस्था अनुसार निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले औपचारिक रुपमा मतदातासमक्ष मत माग्न र चुनाव प्रचार–प्रसार गर्न सक्नेछन् ।
निर्वाचनमा भाग लिएका विभिन्न राजनैतिक दल र उम्मेदवारले तोकिएको मापदण्डका आधारमा पत्रपत्रिकाका साथै अनलाइन सञ्चारमाध्यममा पनि विज्ञापनवाट प्रचारप्रसार गर्न सक्ने निर्वाचन आयोगले जनाएकाे छ । निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण भने सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने बताइएकाे छ ।
यता निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन गरिरहेको छ भने राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता उल्लङ्घन नगर्न आग्रह गर्दै पत्र काटेर स्पष्टीकरण सोध्ने, कानुनी कारबाहीका लागि अघि सर्नुपर्ने अवस्था नआओस् भन्ने स्पष्ट पारेको छ ।
आयोगले आचारसंहिता राजनीतिक दल एवं सरोकारवाला पक्षहरूसँग व्यापक विचार–विमर्श गरेर तर्जुमा गरिएको स्मरण गराएको छ । आचारसंहिताको पूर्ण परिपालना गर्छौं भनेर सबै राजनीतिक दलहरूले पनि प्रतिबद्धता जनाएका छन् ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलता नीति अवलम्बन गरेको बताउँदै उल्लङ्घनकर्तालाई आयोगले स्पष्टीकरण सोध्ने र उल्लङ्घनको प्रमाण तथा अवस्था हेरेर सचेत, दण्डजरिवानाका साथै उम्मेदवारी खारेजीसम्म हुने कानुनी व्यवस्था गरेकाे उल्लेख गरिएकाे छ । त्यस्तै निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिन नपाइने समेत आयोगले उल्लेख गरेको छ ।


