
नेपालले आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरण अन्तर्गतकाे आजकाे खेल इन्डिजसँग खेल्दैछ । भारतकाे मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा बिहान सवा ११ बजेदेखि हुने खेलमा नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।
यअअघि इङल्याण्ड र इटालीसँग पराजित भएकाे नेपालले आज दुई पटकको विश्वविजेता वेस्ट इन्डिजको सामना गर्न लागेकाे हाे । सुरुवाती दुई खेलमा पराजय बेहोरेको नेपाललाई अघिल्लो चरणको झिनो आशा कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब रहेकाे छ ।
यता यसअघिकाे दुई खेल जितेकाे वेस्ट इन्डिजले आज नेपाललाई हराउँदै ‘सुपर ८’ मा आफ्नो स्थान सुरक्षित गर्ने दाउमा रहेकाे छ । नेपाली टाेलीका सामु अब दुई विकल्प मात्र छन्- कि त उत्कृष्ट खेल खेलेर जित निकाल्ने, कि झोला प्याक गरेर घर फर्किने ।
यसअघि टी-२०आई खेलकाे पछिल्ला तीन खेलमा नेपालले दुई खेल जितेको थियाे । वेस्ट इन्डिजका घातक ब्याटरहरूलाई रोक्न नेपालले आजको टोलीमा केही रणनीतिक परिवर्तन गर्ने सम्भावना रहेकाे छ । नेपालको सम्भावित ११ खेलाडीमा कुशल भुर्तेल, लोकेश बम (विकेटकिपर), रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल/ललित राजवंशी रहेका छन् ।


