Advertisement Banner
Advertisement Banner

३० मंगलबार, असार २०८३13th July 2026, 9:36:25 am

भगवान् शिवको पूजाआराधना गरी महाशिवरात्रि पर्व मनाइँदै

०३ आइतबार , फाल्गुण २०८२५ महिना अगाडि

भगवान् शिवको पूजाआराधना गरी महाशिवरात्रि पर्व मनाइँदै

आज देशभर आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ । हरेक वर्ष झैँ यसवर्ष पनि महाशिवरात्रि पर्व धुमधामका साथ मनाउन लागिएकाे हाे ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरि यस पर्व मनाउन लागेका हुन् । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने याे पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा मनाउने गरिन्छ ।

महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने परम्परा रहेकाे पाइन्छ । त्यसतै यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास समेत रहेकाे छ ।

त्यस्तै यस पर्वका अवसरमा आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ भने कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । त्यसैगरि शिवरात्रि पर्वको मेला भर्न आज देश तथा विदेशका साथै छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेकाे छ ।

पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि पशुपतिकाे चार ढोका खोलेर दर्शनका लागि व्यवस्थापन मिलाइएकाे पशुपति क्षेत्र विकास काेषले जनाएकाे छ । काेषले मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तीसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गी भवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रूपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरेको जनाएको छ ।

त्यसैगरि दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको बताइएकाे छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत शिव मन्दिरमा भक्तजनको बाक्लाे भीड लागेकाे छ ।