
नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस–२०८२ को पूर्वाभ्यास कार्यक्रम सम्पन्न गरेकाे छ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा उक्त पूर्वाभ्यास कार्यक्रम गरेकाे हाे ।
उक्त पूर्वाभ्यास कार्यक्रमको प्रधानसेनापति अशोकराज सिग्देललले निरीक्षण गरेका थिए । कार्यक्रममा प्रधानसेनापति सिग्देलले श्री नं १ विपद् व्यवस्थापन गण, श्री नं २ विपद् व्यवस्थापन गण र राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयलाई युनिट झण्डा प्रदान गरेका थिए ।
प्रधानसेनापति सिग्देलले केन्द्रीय सैनिक ड्रिल प्रतियोगिता २०८२ मा प्रथम र हुने श्री उपत्यका पृतना र द्वितीय हुने श्री मध्य पश्चिम पृतनालाई पुरस्कृत गरेको थिए । उक्त अवसरमा प्रधानसेनापति सिग्देलले प्रधानसेनापति व्यानर प्रतियोगिता २०८२ मा युद्धक गण, युद्ध मद्दती गण र युद्धक गुल्मतर्फ प्रथम हुने क्रमशः नयाँ श्रीनाथ गण, त्रिनेत्रदल गण र ईन्द्रदल गुल्म लगायत उक्त प्रतियोगिताको विभिन्न विधाहरूमा प्रथम हुने युनिटहरूलाई पुरस्कृत गरेका थिए ।
हरेक वर्ष महाशिवरात्रिका दिन मनाइने नेपाली सेना दिवस यसवर्ष पनि सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रमका साथ आगामी फागुन ३ महाशिवरात्रि पर्वका दिन मनाइँदै छ ।


