
मनाङ र लमजुङ जिल्लाको बिचमा ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । मनाङकाे नासोङ गाउँपालिका र लमजुङको मर्स्याङदी गाउँपालिकाको बिचमा म्यार्दी जलविद्युत् आयोजना निर्माण हुने भएकाे हाे ।
म्यार्दी जलविद्युत् आयोजना निर्माणको प्रक्रिया स्वरुप वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीको काम शुरु गरेको बताइएकाे छ । उक्त आयोजनाको प्रस्तावक म्यार्दी खोला हाइड्रोपावर कम्पनी प्रालि रहेको छ ।
आयोजना नदी प्रवाही प्रकृतिको रहेको छ भने आयोजनाबाट वार्षिक रुमपा औसत १७३.४४ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने विश्वास लिइएको छ । आयोजनाबाट उत्पादित बिजुली १० किलोमिटर लामो एक सय ३२ केभी क्षमताको प्रसारण लाइन मार्फत धारापानीमा रहेको २२० केभी क्षमाको मनाङमा हवमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा पठाइने आयोजनाले जनाएकाे छ ।
उक्त म्यार्दी जलविद्युत् आयोजनाको कूल लागत ३ अर्ब ९० करोड ९७ लाख रहने छ भने यस आधारमा प्रतिमेगावाट लागत १३ करोड ३ लाख रहनेछ । यता वन तथा वातावरण मन्त्रालयले आयोजनाका कारण पर्न सक्ने सम्भावित वातावराीय प्रभावका बारेमा जानकारी दिन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।


