
नेपालले आइसिसी टी-२० विश्वकप २०२६ को पहिलाे खेल इंग्ल्यान्डसँग खेल्दैछ । भारतकाे मुम्बईस्थित वाङ्खडे स्टेडियममा हुने आजकाे खेलमा विश्व क्रिकेटको महारथी इंग्ल्यान्डसँग नेपालले प्रतिस्पर्धा गर्न लागेकाे हाे ।
यसअघि नेपालले आइसीसी टी–२० विश्वकप अन्तर्गतकाे अभ्यास खेलमा युएईलाई ७ विकेट र क्यानडालाइ ६ विकेटले पराजित गरेको थियाे । रोमाञ्चक सुरुवातसँगै नेपाली क्रिकेट टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा इंग्ल्यान्डको सामना गर्न लागेकाे हाे ।
आजकाे खेल नेपाली क्रिकेट इतिहासकै एक महत्वपूर्ण खेलकाे रुपमा हेरिएकाे छ । त्यस्तै यसअघिकाे उद्घाटन खेलहरूमा एसोसिएट टोलीहरूले टेस्ट राष्ट्रहरूलाई दिएको कडा टक्करले नेपाली टोलीको मनोबल थप उच्च बनाएको छ ।
यता नेदरल्यान्ड्स, स्कटल्यान्ड र अमेरिकाले क्रमशः पाकिस्तान, वेस्ट इन्डिज र भारतजस्ता बलिया टोलीविरुद्ध देखाएको जुझारु प्रदर्शनले जारी विश्वकपमा ‘अण्डर डग’ टोलीहरूको शक्ति प्रदर्शन गरिसकेका छन् । आफ्नो तेस्रो विश्वकप सहभागितामा नेपाल यसपटक समूह चरण पार गर्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारी गरेकाे छ भने समूह ‘सी’ मा रहेको नेपालले अर्को चरण प्रवेशका लागि कम्तीमा दुई खेल जित्नुपर्ने दबाब रहेकाे छ ।


