
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम ठगि गर्ने दुईजना पक्राउ परेका छन् । रकम ठगि गरेको आरोपमा ३५ वर्षीय रुपेश लामिछाने र हिरा तामाङलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ बस्ने ३५ वर्षीय लामिछाने काभ्रेको पाँचखाल नगरपालिका-३ का हुन् भने काठमाडौंको तारकेश्वर नगरपालिका-६ बस्ने तामाङ धादिङको खनेबासको भएको प्रहरीले जनाएको छ ।
रुपेशले अष्ट्रेलिया पठाइदिन्छु भनी एक जनाबाट ९ लाख रुपैयाँ र हिराले स्लोभाकिया पठाइदिन्छु भनेर एक जनाबाट ८ लाख ५० हजार रुपैयाँ असुल गरेर विदेश नपठाइ ठगी गरेको प्रहरीको भनाइ रहेको छ ।
उनीहरुले युवायुवतीहरुलाई आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाउने भन्दै लामो समयसम्म झुक्याएको र विदेश नपठाई सम्पर्क विहीन भएको भन्ने पीडितहरुको उजुरीको आधारमा पक्राउ गरिएको बताइएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।


