Advertisement Banner
Advertisement Banner

२२ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

फागुन २ गतेदेखि विसं २०८३ को पात्रो बजारमा आउने

२२ बुधबार , माघ २०८२१० घण्टा अगाडि

फागुन २ गतेदेखि विसं २०८३ को पात्रो बजारमा आउने

आगामी फागुन २ गतेदेखि विसं २०८३ को पात्रो (पञ्चाङ्ग) बजारमा आउने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी र सदस्य, पूर्वपदाधिकारी र सदस्यबीचको छलफलपछि नेपाल राष्ट्रका लागि विसं २०८३ को पात्रो (पञ्चाङ्ग) बजारमा ल्याउन लागिएको हो ।

नेपाल राष्ट्रका लागि विसं २०८३ को पञ्चाङ्ग प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको समिति जनाएको छ । वर्तमान र पूर्वपदाधिकारीसँगै धर्मशास्त्रविद्, संस्कृतिविद्, सिद्धान्त तथा फलित ज्योतिषका विज्ञ, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका धर्मशास्त्र र ज्योतिष विभागका प्राध्यापक, नेवारी तथा विभिन्न समुदायका विज्ञ, प्रदेश सरकार एवं स्थानीय तहका प्रतिनिधि, विभिन्न ज्योतिषीय, पुरोहित, धार्मिक एवं सांस्कृतिक संघ संस्थाका प्रतिनिधिबीच घनिभूत छलफल गरी पञ्चाङ्ग निर्माण गरिएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले जानकारी दिएका छन् ।

समितिले उक्त छलफलपछि विसं २०८२ मा प्रकाशन भएका १८ वटा पात्रोलाई प्रकाशनको स्वीकृति दिने निर्णय समेत गरेको छ । प्रकाशनका लागि सूर्यनाथ पन्तको तोयनाथ, बाबुराम शर्मा सापकोटाको बाबुराम, मुरारीराज पाण्डेको नरनाथ, विश्वनाथ त्रिपाठीको हिमाल, डिल्लीराज जोशीको अठोला, सुबोध ढुङ्गेलको सूर्य, लोकराज पौडेलको आकाशदर्शन, शशीधर जोशीको बगलामुखी, दामोदर अँठोला जोशीको शुभ, श्रीकेश कौशिकको बाबा गोरखनाथ, कीर्तिकिरण जोशीको कीर्ति, सिद्धिलक्ष्मी व्यञ्जनकारको सिद्धि, चेतराज उपाध्यायको खप्तड तारानाथ, नारायणप्रसाद नेपालको गौरीशङ्कर, केशवराज जोशीको भृगु अङ्गिरा, खगेन्द्रप्रसाद अधिकारीको कश्यप, ज्ञानप्रसाद भण्डारीको मुक्तिनाथ र नारायणप्रसाद निरौलाको आर्यावर्त पञ्चाङ्ग गरी १८ वटा पुराना पात्रोलाई प्रकाशनका लागि स्वीकृति दिएको समितिले जनाएको छ ।

विसं २०८१ सम्म १४ वटा पञ्चाङ्ग प्रकाशन हुँदै आएकामा २०८२ मा ४ नयाँ पात्रोले प्रकाशनको स्वीकृति पाएका थिए । यस वर्षदेखि स्वीकृति दिइएका ४ पात्रोलाई दुई वर्षे परीक्षण काल राखेर स्वीकृति दिइएको बताइएको छ । विसं २०८३ देखि प्रकाशन हुने गरी नयाँ अर्को एउटा पात्रोले पनि स्वीकृति मागेको र उक्त नयाँ पात्रोलाई भने स्वीकृति दिन बाँकी रहेको जनाइएको छ ।

विगत वर्षमा माघ तेस्रो साता नै अर्को वर्षको पात्रो बजारमा आउने गरेको भएपनि यस वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिको कार्यकारी निर्देशक नियुक्तिमा ढिलाइ गरेका कारण पात्रो प्रकाशनका लागि स्वीकृति दिन करिब १० दिन ढिलाइ भएको हो ।